काठमाडौँ । कपनस्थित रिलायन्स पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा(एसईई) उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार चाबहिलस्थित स्मार्ट प्यालेसमा आयोजित भव्य कार्यक्रमका बिच स्कुलले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना एवं सम्मान गरेको हो ।

स्कुलबाट एसईईमा सहभागी ४६ विद्यार्थीहरु ४ जीपीएसहित उत्कृष्ट ग्रेडिङका साथ उत्तीर्ण भएका छन् । स्कुलले एसईईमा ४ जीपीए ल्याउन सफल शिवाङ्गी लम्साललाई नगद १०,००० रुपैयाँसहित सम्मान एवं पुरस्कृत गरेको थियो । साथै, स्कुलको उत्कृष्ट एसईई नतिजाका लागि योगदान दिने शिक्षक, कर्मचारी, विभागीय प्रमुखलगायतलाईसमेत सम्मान गरिएको थियो ।

कर्यक्रमका प्रमुख अतिथि एवं प्राध्यापक तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, एवं शिक्षकहरुलाई सम्मानित एवं पुरस्कार वितरण गरेका थिए । प्रमुख अतिथि दाहालले उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई बधाई दिँदै सुखद भविष्यको कामना गरे। रिलायन्स पब्लिक स्कुलले छोटो समयमा महत्त्वपूर्ण सफलता हात पारेको भन्दै दाहालले स्कुलले सुरु गरेको नैतिकता र संस्कारमा आधारित शिक्षा अभियानको प्रशंसा गरे ।

रिलायन्स इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्र जंग थापाले विद्यार्थी, शिक्षक, अभिभावक सबैको सामुहिक प्रयासबाट स्कुलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । स्कुलले शिक्षालाई शैक्षिक प्रमाणपत्रसँग मात्रै नजोडी संस्कार, सीप र जीवनोपयोगी ज्ञानसँग पनि जोडेको बताए ।

जीवनमा यो परीक्षाको सुरुवात मात्रै भएको र अझै ठुला परीक्षाहरू बाँकी रहेको उल्लेख गर्दै थापाले विद्यार्थीहरूले जीवनमा धेरै कुरा देख्न र सिक्न बाँकी रहेको बताए। अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन अझ ठुलो बधाईका हकदार रहेको बताउँदै उनले आजसम्म ३९७ जना विद्यार्थी रिलायन्स पब्लिक बाट दीक्षित भएको जानकारी दिए।

विद्यालयका प्रधानाध्यापक वसन्तलाल लामिछानेले विद्यार्थी, शिक्षक र अभिभावक तिनै पक्षको अनवरत मेहनत र सहकार्यका कारण रिलायन्स पब्लिकले सदा झैँ यस वर्ष पनि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताए । रिलायन्स पब्लिकका अध्ययन गरुञ्जेल विद्यार्थीहरूले जीवनभरका लागि हुने स्मरणहरू बनाएको उल्लेख गर्दै लामिछानेले विद्यालयले अबोध र जिज्ञासु अवस्थामा आएका बालबालिकाहरूलाई आत्मविश्वासी, ज्ञानवान् र बाहिरी संसारसँग प्रतिस्पर्धा गर्न लायक बनाएको दाबी गरे ।

सिकाइको क्रम जीवनभर जारी रहने भन्दै लामिछानेले आगामी दिनमा आफ्नो भविष्य बारे सही निर्णय गरेर सफल हुन विद्यार्थीहरूलाई शुभकामना दिए। उनले विद्यालयको स्थापना देखि आजसम्म माध्यमिक शिक्षा परीक्षामा विद्यालयले प्राप्त गरेका सफलता र आगामी योजनाहरूबारे समेत जानकारी गराए।

कार्यक्रममा रिलायन्स सञ्चालक समितिका तर्फबाट शुभकामना दिँदै रिलायन्सका सञ्चालक तथा वरिष्ठ चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटीले अभिभावकको विश्वासका कारण सफल हुन सकेको भन्दै उत्कृष्ट नतिजाका लागि बधाईको ठुलो हकदार अभिभावक भएको बताए ।

४ जीपीए ल्याएर नगदसहित सम्मानित भएकी विद्यार्थी शिवाङ्गी लम्सालले विद्यालयको सिकाइ मैत्री वातावरण नै आफ्नो सफलताको मूल कारण भएको बताइन् । अभिभावक, शिक्षक र सम्पूर्ण विद्यालय परिवारको अतुलनीय योगदानका कारण आफूहरू आजको स्थानमा आइपुगेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्