काठमाडौँ। रिलायन्स साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको रिलायन्स साहित्य स्रष्टा सम्मान यसपटक कवि प्राडा हेमनाथ पौडेललाई प्रदान गरिएको छ । यसैगरी यस वर्षको रिलायन्स युवा प्रतिभा सम्मानबाट कवि हेम प्रभास सम्मानित भएका छन् ।

शनिवार आयोजित एक भव्य समारोहकाबीच वरिष्ठ साहित्यकार वैरागी काइँलाको हातबाट कविद्वयलाई सम्मानित गरिएको हो । प्राडा पौडेललाई २५ हजार र युवाकवि प्रभासलाई ११ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

रिलायन्स साहित्य समाजले हरेक वर्ष महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको सन्दर्भ पारेर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ । सोही सन्दर्भमा यसवर्ष पनि “राष्ट्रव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रम” आयोजना गरिएको हो ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार वैरागी काइँलाले महाकवि लक्ष्मी प्रसाद देवकोटाका कृतिहरूलाई लिएर बर्सेनी सम्पन्न हुँदै आएको वक्तृत्वकलाले विद्यार्थी वर्गमा देवकोटा साहित्यप्रति रुचि जगाउने र साहित्य अध्ययनमा उनीहरूको सहभागिता बढ्ने विश्वास व्यक्त गरे । विद्यालयहरूको साहित्यिक कार्यक्रमप्रतिको अग्रसरताले साहित्यकारहरूलाई भाषा साहित्यको उत्थानमा थप लाग्न प्रोत्साहन मिल्ने उनको भनाइ थियो ।

सम्मानपश्चात् कार्यक्रममा बोल्दै कवि प्राडा पौडेलले रिलायन्स इन्टरनेसनल एकेडेमी र रिलायन्स साहित्य समाजले प्रदान गरेको सम्मानले साहित्य क्षेत्रमा अझ अघि बढ्न हौसला मिलेको बताए । विद्यालयले दिएको सम्मानप्रति कृतज्ञता प्रकट गर्दै कवि पौडेलले समाजलाई आगामी दिनमा अझै सशक्त रुपमा साहित्य जगेर्नामा लाग्न शुभकामना दिए ।

कार्यक्रममा रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्रजंग थापाले विद्यालयस्तरमा आयोजना हुँदै आएको वक्तृत्वकला, कविगोष्ठी एवं स्रष्टा सम्मानले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप र साहित्य सिर्जनामा लाग्ने प्रेरणा र हौसला तथा स्थापित कविहरुलाई भाषा साहित्यको जर्गेनामा थप लाग्ने प्रोत्साहन मिल्ने बताए ।

कार्यक्रममा कवि डा रमेश शुभेच्छुले सम्मानित स्रष्टा प्रा.डा. हेमनाथ पौडेलको व्यक्तित्व र नेपाली साहित्यमा उनको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रममा पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, कविहरु कलानिधि दाहाल, प्राडा देवी नेपाल, रुपक अलंकार, बलराम दाहाल लगायतको उपस्थिति रहेको थियो ।

रिलायन्स शैक्षिक प्रतिष्ठानअन्तर्गत स्थापित रिलायन्स साहित्य समाजले २०६९ सालदेखि कविहरुलाई सम्मान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्