काठमाडौं । शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षाको सुनिश्चितता पछि मात्रै विद्यालय पुनर्सञ्चालन गर्न सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले सरकारसँग आग्रह गरेको छ । स्वास्थ्य सुरक्षाको पूर्वतयारी पछि मात्र विद्यालय पुनर्सञ्चालन गर्नुपर्ने महासंघको माग छ ।

विद्यालय पुनर्सञ्चालनका सम्बन्धमा महासंघले आइतवार आयोजना गरेको भर्चुअल संवादमा महासंघका सातै प्रदेशका अध्यक्ष तथा प्रदेश इन्चार्जहरुले यस्तो सुझाब दिएका हुन् । सातै प्रदेशका अध्यक्ष एवं इन्चार्जहरुको सुझावहरुलाई समावेश गरी एकीकृत एवं संस्थागत निर्णय सार्वजनिक गर्ने महासंघका महासचिव गुणराज मुक्तानले जानकारी दिए । भर्चुअल संवादमा संस्थागत निर्णय लिने आधारहरु तय गर्ने गरि छलफल भएको मुक्तानले बताए ।

संगठन सञ्जालहरुको दायित्व र जिम्मेवारी प्रति सचेत गराउने तथा प्रदेशका अध्यक्ष तथा प्रदेश इन्चार्जहरुको बिच भदौ १ देखि विद्यालय सञ्चालन गर्ने अवस्था छ वा छैन ? भन्ने विषयमा  शैक्षिक अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको महासचिव मुक्तानले जानकारी दिए ।
सरकारले भाद्र १ गतेदेखि विद्यालय खोल्ने जसमा पहिलोचरणमा विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक वितरण र परीक्षा सञ्चालन गर्ने र दोस्रो चरणमा विद्यालय पुनः सञ्चालन कार्यढाँचा २०७७ बनाइ कार्यान्वयन गर्ने तयारी गरेको छ ।

विद्यालय पुनर्सञ्चालन कार्यढाँचा २०७७ को मस्यौदा छलफलमै रहँदा महासंघले विद्यालय सञ्चालनमा स्थानीय सरकारको अगुवाई र विद्यालय व्यवस्थापन समितिहरुको क्रियासिलता बढाउँदै विद्यालय सञ्चालनको मुख्य जिम्मेवारी रहने भुमिका प्रति अगुवाई गर्नका लागि मातहतका संगठनहरुलाई निर्देशन दिएको छ ।

महासंघले विद्यालय व्यवस्थापन समिति, महासंघका प्रदेश, जिल्ला र पालिकास्तरिय संगठनहरुलाई विद्यालय सञ्चालन तथा व्यवस्थापनमा आफ्नो दायित्व र जिम्मेवारी प्रति सचेत रहन पनि निर्देशन दिएको छ ।

भर्चुअल छलफलमा सामुदायिक विद्यालय पुनर्सञ्चालन गर्नका लागि कोरोनाको प्रभाव झन् बढिरहेको, विद्यालयमा क्वारिन्टिन र आईशुलेशन वार्ड नहटेको, यातायातहरु पूर्णरुपमा नखुलेका, बाढिपहिरोका कारण बाटोघाटो अवरोध भएको जस्ता गुनासाहरु आएका थिए । यस्तै अभिभावकहरुमा आफ्ना बालबालिकाहरु ढुक्क विद्यालय पठाउन सक्ने अवस्था नदेखिएको कुराहरु उठेका थिए ।

महासंघले पहिलोे चरणमा विद्यालय वैकल्पिक शिक्षण प्रर्णालीको प्रभावकारीता अनुगमन गरि विद्यार्थीको सिकाइ निरन्तरता दिन वैकल्पिक सिकाइका प्रभावकारी माध्यमहरु र विभिहरु खेज्नुपर्ने, सामुदायिक सिकाइ केन्द्रसम्म विद्यालय र शिक्षक पुग्ने अभियान चलाउन पनि सरकारलाई सुझाब दिएको छ ।

दोश्रो चरणमा विद्यालयहरुमा राखिएका सबै क्वारेन्टाइनहरु र आइशोलेशन वार्डहरु हटाई निर्मलीकरण गरिसक्न, विद्यालय सुरक्षाको आधारभूत मापदण्ड पुरा गर्न, विद्यालयमा जाने शिक्षक, विद्यार्थी र कर्मचारीहरुको कोरना विशेष जीवन विमाको प्रकृया पुरा गर्न महासंघले सरकारसँग माग गरेको छ ।

विद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना गर्नुपर्ने र मनोसामाजिक परामर्श सम्पन्न गर्नुपर्ने महासंघको माग छ । यस्तै, तेस्रो चरणमा विद्यार्थी नियमित विद्यालय जाने विश्वासनीय अवस्था सिर्जना गरि बाँकी शैक्षिक सत्रमा विद्यालय सञ्चालन सूचारु गर्ने योजना तयार गरि विद्यालय पुनसञ्चालन गर्नुपर्ने बैठकको निस्कर्ष रहेको महासंघका केन्द्रीय अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

कोभिड–१९ का कारण लकडाउन भएसँगै त्यसयता सामुदायिक विद्यालयहरु सञ्चालन हुन सकिरहेको अवस्था छैन । विद्यालय सञ्चालनमा आउँन नसकेतापनि सिकाइ प्रकृयालाई निरन्तरता दिन सरकारले असार १ गते देखि वैकल्पिक प्रर्णालीबाट अनलाइन कक्षाहरु सञ्चालन गर्न, गराउन टिभी /रेडियो /एफएम/घरैमा स्वअध्यायन जस्ता विधिहरुको समेत परिचालन गर्ने अभ्यास गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्