संस्कृत सम् उपसर्ग पूर्वक ‘कृ’ धातुदेखि क्त प्रत्यय लागेर निष्पन्न भएको शब्द हो   । शुद्ध संस्कारित परिष्कृत भाषा । जसलाई ‘संस्कृत’ भनिन्छ । संस्कृत भाषा विश्व को प्राचीनतम एवं समृद्ध भाषा हो ।  ग्रीक भन्दा परिपूर्ण र ल्याटिन भन्दा पनि सुसंस्कृत भाषा भनेर पश्चिमाहरुले पढ्ने गर्छन् । यो सवै भाषाको जननी हो । प्रायः यस भाषालाई देववाणी, देवभाषा पनि भनिएको पाइन्छ ।

‘संस्कृतं नाम दैवी वागान्वाख्याता महर्षिभिः’ ।

संस्कृत भाषा लोकभाषा मात्र नभएर देव भाषा पनि हो । व्यापक एवं जीवन्त भाषा– संस्कृत भाषा, आज पनि करोडौं मनुष्यहरुले आफ्नो जीवनमा समाविष्ट गरेको पाईन्छ ।  नेपाल भारतलगायत अन्यत्र प्रायः राष्ट्रहरूमा बसोबास गर्नेहरुले वैदिक परम्परामा गरिने समस्त धार्मिक कृत्यहरु संस्कृतमा नै गर्छन्  । प्रातः जागरण देखि  शयन वेलासम्म संस्कृत भाषाद्वारा नै वैदिक कर्म गर्ने गर्छन् ।

सनातन वैदिक धर्ममा गर्भाधान देखि अन्त्येष्टि पर्यन्त षोडश संस्कार संस्कृतमा नै हुन्छन् । त्यसैले संस्कृत भाषा समृद्ध छ । जैन एवं  महायानी बौद्धहरुको समस्त विशाल साहित्य संस्कृतमा नै छन् । विचार–विस्तार, भाषण को माध्यम संस्कृत नै हो । ‘भाष्यते इति भाषा’ । भाषा भनेको भावना एवं विचारलाई प्रकट गर्ने साधन हो र  संस्कृत भाषा नै प्रथम भाषा हो भन्ने कुरा विभिन्न अनुसन्धानले देखिएको पाईन्छ । अतः संस्कृत भाषा एक जीवन्त र सशक्त भाषा हो ।

संस्कृत केवल भाषा मात्र होइन अपितु संस्कृत एक विचार हो, क्रान्ति हो, जीवनी शक्ति हो । संस्कृत नै संस्कृति हो र संस्कार हो । संस्कृतमा विश्वको कल्याण छ, शान्ति छ, सहयोग सद्भाव छ, ‘वसुधैव कुटुम्बकम्’ को भावना छ ।

संस्कृत भाषालाई जान्नेले स्वयंलाई जान्दछ । साथै, भेदभाव आदि संकीर्ण मनस्थितिबाट माथि उठ्ने गर्छ । सम्पूर्ण प्राणिलाई समान व्यवहार गर्न सिकाउने पूर्वीय दर्शनको संवाहक हो संस्कृत भाषा त्यसैले आजको द्वैत एवं असमान व्यवहारले भरिएको समाजमा संस्कृत भाषाको महत्व खट्किएको छ । पश्चिमाहरु संस्कृतलाइ जीवनमा उतार्न लागि परेका छन् । भनिएको छ :

‘जानाति विविधाःभाषाः जानाति विविधाः कला।
आत्मानं नैव जानाति यो न जानाति संस्कृतम्’

अनेकानेक भाषा, कला, आदिमा निपूर्ण हुँदा पनि  आफुले आफुलाई जान्न सकिदैन तर संस्कृत जसले जान्यो उसले स्वयंलाई जान्यो ।

सुस्पष्ट व्याकरण र वर्णमालाको  वैज्ञानिकताले भरिएको कारण सर्वश्रेष्ठरुपमा सुशोभित छ संस्कृत भाषा । सर्वाधिक एवं महत्वपूर्ण साहित्यहरुको धनी भएकाले यस भाषाको श्रेष्ठतामा कुनै विवाद छैन । संस्कृत भाषा अन्य भाषाहरुझैं केवल अभिव्यक्ति को साधन मात्र होईन अपितु यो भाषा मनुष्यको सर्वाधिक सम्पूर्ण विकास को आधार पनि हो ।

प्राचीन कालमा संस्कृत भाषालाई देववाणी भनिन्थ्यो ।

त्यस बखत यो भाषा अव्याकृत थियो र यसमा प्रकृति प्रत्ययको विभाजन गरिएको थिएन। पछि देवराज ईन्द्रले अव्याकृतता र प्रकृति प्रत्ययलाई छुट्याउन प्रातिपदिक पाठले हुने कठिनाईलाई मध्यनजर गरि प्रकृति र प्रत्यय विभाजन गरि शब्दहरुको उपदेश गर्नुभयो ।

यसरी अव्याकृतलाई व्याकृत गरेर पुनःसंस्कार गरिएकालेल ‘देववाणी’ भाषालाई ‘संस्कृत’ भनिएको हो । अतः संस्कृत केवल स्वविकसित भाषा होइन अपितु  संस्कारित भाषा हो त्यसैले यसको नाम संस्कृत हो ।

थाइल्याण्ड अन्तर्गत बाली द्वीप निवासीहरुको मातृभाषा संस्कृत हो यो कुरा पछिल्लो रिपोर्टद्वारा बुझिन्छ । यस्ता अनेकानेक प्रमाण र अरु भाषा भन्दा शक्तिशाली यस भाषाको अनेक महत्व छ । जसलाई आज कम्प्युटर, रोवट, रकेट, आदिमा उपयुक्त भनि प्रमाणित गरिएको छ ।

तर केहि विकृत मानसिकता तथा  अंग्रेजी मानस पुत्रहरु संस्कृतलाई ‘मृत’ भाषा भनेर सम्बोधन गर्ने कु चेष्टा समेत गर्छन् । सूर्य उदाएर उज्यालो छर्दा पनि अन्धकार देख्नु सूर्यको दोष होईन ।

यो जानी जानी आँखा चिम्लेर आफुले आफैलाई खाल्डोमा हाल्ने चेष्टाले गरिएको नाटक या चलखेल हो र संस्कृत भाषाको महत्व घटाऊने षड्यन्त्र हो । तर बुझ्नेले बुझेकै छन् संस्कृत स्वयं समर्थ, सरस, सरल र अमर भाषा हो ।

नेपालीले किन संस्कृत पढ्ने ?
पहिलो कुरा त संस्कृत भाषा नेपाली भाषाको जननी हो । संस्कृतको ज्ञान बिना नेपाली भाषा शुद्ध बोल्न र लेख्न सकिदैन र नेपाली भाषा र साहित्यको विकास र प्रतिष्ठा स्थापित हुन सक्दैन । नेपालीको आत्मा संस्कृत मै बसेको छ,  हाम्रो संस्कृतिमा यदि समसामयिक कुनै विकृति र विसंगति देखा पर्दछ भने त्यसलाई सजिलै निर्मूल पार्ने प्रभावकारी आधार पनि  संस्कृत भाषा नै हो ।

चार वेद, अठार पुराण, मनु, याज्ञवल्क्य, पारासर, अत्रि आदि  स्मृतिहरु, षटदर्शन आदि शास्त्रहरु ज्ञान विज्ञानका अभूतपूर्व ग्रन्थहरु  हुन् । अंग्रेजहरुले यो कुरा राम्ररी बुझेर म्याक्समुलरले भारतबाट थुप्रै ग्रन्थहरुलाई लण्डन पुर्याएका थिए र अंग्रेजहरुले यिनको अध्ययन र अनुसन्धानमा आफनो जीवन लगाएका छन् र विकासको सोपान चढदै मंगल ग्रहसम्मको यात्रामा लागिपरेका छन् ।

त्यसैगरि अन्य भाषाको तुलनामा संस्कृतमा सबभन्दा कम शव्दमा वाक्य पूरा हुन्छ । स्पिच थेरापीमा संस्कृत सहयोगी सिद्ध हुन्छ र एकाग्रता बढाउँछ । त्यसैले आउनुहोस ! हामी सबै मिलेर संस्कृतको उन्नतिमा योगदान गरौं । संस्कृत बिना संस्कृति अधुरो नै रहन्छ ।

प्रतिकृया दिनुहोस्