रेडियो सुनेर पढ्दै विद्यार्थी फोटो : सुदीप अधिकारी

कोरोना भाइरस संक्रमण फैलिन नदिन देशभर लकडाउन भइरहेका बेला विद्यार्थीको पठनपाठनलाई लक्षित गरेर बर्दियामा सुरु गरिएको रेडियो पढाइ कार्यक्रम प्रभावकारी भएको सरोकारवालाले बताएका छन् ।

ठाकुरबाबा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको रेडियो शिक्षा कार्यक्रमको प्रभावकारिता र सुधारका लागि सुझाव विषयक नगरपालिका स्तरीय प्रधानाध्यापक वैठकमा सहभागीहरूले रेडियो पढाइ कार्यक्रम प्रभावकारी भएको धारणा राखेका थिए ।

लकडाउनका कारण अन्य कुनै विकल्प नभएको अवस्थामा रेडियोबाट गरिएको पठनपाठन कार्यक्रमले विद्यार्थीहरूमा पढ्ने बानीको विकास गरेको नगर शिक्षा समितिका सदस्य तथा बबई आधारभुत विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीले बताए ।

रेडियोबाट शिक्षा कार्यक्रम संचालन गर्नका लागि शिक्षकहरूबाट भएको तयारी र प्रस्तुति अत्यन्तै प्रशंसनीय एवं उपलब्धिमूलक रहेको किसान मावि वनकट्टीका प्रधानाध्यापक नवराज ढुंगानाले बताए ।

विद्यार्थीहरुले घरमै बसेर रेडियो सुनेर आफ्नो पठनपाठनलाई जारी राख्नुका साथै कोरोना भाइरसको त्रासका कारण रेडियोबाट सुरु गरिएको पठाइ कार्यक्रम विद्यार्थीहरुका लागि प्रभावकारी भएको शिक्षक र अभिभावकहरुको प्रतिक्रिया छ ।

सधै विद्यालयमा शिक्षकको निगरानीमा पढ्दै आएका विद्यार्थी अहिले घरमै अभिभावकहरुको निरानीमा पढ्न थालेको र आफ्ना बालबालीकालाई घरमै बसेर पढ्नमा सहयोग पुर्याउदै आएको अभिभावकहरु बताउँछन् ।

शनिवार बाहेक हरेक दिन विहान ठिक १० बजेदेखि रेडियोबाट पढाउन सुरु गरिएको छ । विद्यार्थीहरुले रेडियो सुनेर पढ्ने र बुझ्ने प्रयास गर्छन् । जसले गर्दा विद्यार्थीहरुमा सुन्ने क्षमतामा पनि वृद्धी भएको शिक्षकहरु बताउँछन् ।

लकडाउनका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित भईरहेको अवस्थामा रेडियो पढाइ कार्यक्रम रेडियो टाइगर भुरिगाउँको सहकार्यमा ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको हो । जिल्लाको अधिकांश क्षेत्रमा रेडियो टाइगर सुन्न सकिने भएकाले यो रेडियो मार्फत रेडियो शिक्षा संचालन गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । रेडियो पढाइ कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल नेपालगञ्ज, स्याक नेपाल बाँके र जिल्लाका विभिन्न पालिकाहरुले सहकार्य गरेका छन् ।

ठाकुरबाबा नगरपालिकाले रेडियो टाइगरसँगको सहकार्यमा २०७६ चैत्र २३ गतेदेखि रेडियो शिक्षा कार्याक्रम सञ्चालन गर्दै आएको छ । रेडियोबाट सुरु गरिएको पढाइ कार्यक्रमलाई विद्यार्थीहरुले अवसरलाई सदुपयोग गरेको ठाकुरबाबा नगरपालिका शिक्षा शाखाको भनाइ छ ।

पढाइका साथै रेडियोबाट हरेक शुक्रबार कविता वाचन, कथा बाचन, हाजिरीजवाफलगाएतका अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएको रेडियो टाइगरका प्रवन्धक भावुक योगीले बताए ।

प्रतिकृया दिनुहोस्