हात हातमा रेडियो प्राप्त भएपछि उत्तरी हुम्लाका विद्यार्थीलाई रेडियो कक्षा लिन सहज भएको छ । यसअघि रेडियो कक्षा सञ्चालन भएपछि विद्यार्थीसँग रेडियो नहुँदा प्रभावकारी हुन सकेको थिएन ।

शिक्षा क्षेत्रमा काम गर्दे आएको एक गैर सरकारी संस्थाले विद्यार्थीको हातमा रेडियो थमाएर पठन–पाठनमा सहजता ल्याएको हो ।

रेडियो विद्यार्थीहरुलाई निशुल्क रुपमा वितरण गरिएको छ । विद्यार्थीको हातमा रेडियो नहुँदा रेडियोबाट संचालित कक्षामा विद्यार्थीको पहुँच नपुगेपछि रेडियोको व्यवस्था गरिएको हो । मोतिरामको आधारभूत विद्यालयका शिक्षक पासाङ लामाले घरमा मोबाइल रेडियो नभएका विद्यार्थीहरुका हात–हातमा रेडियो पाएपछि रेडियोबाट संचालन भएका कक्षा सुन्न सहज भएको बताए ।

मावि तहका विद्यार्थीहरुका लागि सदरमुकाम सिमकोट स्थित दुई रेडियोबाट कक्षा सञ्चालन भइरहेको छ । कक्षा सञ्चालन भएको भएपनि विद्यार्थीको हातमा रेडियो नभएपछि पढाइमा सहभागिता हुन नसकेको गुनासो विद्यार्थीबाट आएको थियो । शिक्षक लामाले विद्यार्थीले रेडियो पाएपछि घरको छतमा समुहमा सामाजिक दुरी कायम गरि रेडियो सुनेर अध्ययन गर्ने गरेको बताए । हात–हातमा रेडियो पाएपछि विद्यार्थी निकै हर्षित बनेका छन् ।

आधार विकास नेपालमा शिक्षा क्षेत्र हेर्ने अधिकृत कन्जोक लामाका अनुसार बन्दाबन्दीको बेला कार्यक्रमले चार वटा विषयहरु नेपाली, अंग्रेजी, बिज्ञान र सामाजिक बिषयको पठन पाठन भएको तर विद्यार्थीको हातमा मोबाइल र रेडियो नभएपछि त्यसको निशुल्क ब्यवस्था गरिएको छ ।

कार्यक्रमले आफ्नो कार्य क्षेत्रभित्र पर्ने र रेडियोको पहुँच भएका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुग्ने गरि रेडियोको ब्यवस्था गरेको छ । सिमकोट र नाम्खा गाउँपालिकाका मावि तहमा अध्ययनरत विद्यार्थीहरुलाई पाँच जनाको समुह बनाएर एक थान रेडियो वितरण गरिएको छ ।

विद्यार्थीको समुह सबैको पायक पर्ने गरि बनाइएको छ । यसबाट मावि तहका दुई सय जना विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमले जनाएको छ । एक दर्जन भन्दा बढी गाउँमा बस्ने विद्यार्थीलाई रेडियो निशुल्क वितरण गरिएको छ ।

अब विद्यालय संचालन भएपनि बिहान बेलुका रेडियोबाट कक्षा सञ्चालन भई रहने भएको छ । बन्दाबन्दीका बेला रेडियोबाट पठन पाठनले विद्यार्थीहरुलाई पढ्ने बानीमा निरन्तरता दिन सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस्