काठमाडौं । विज्ञानका विषयगत प्रतिभा पहिचान गर्ने उद्देश्यले सातै प्रदेशस्तरमा डिजिटल सेमिनार हुने भएको छ । स्टेम फाउन्डेसन नेपालले अन्तर्राष्ट्रिय ओलम्पियाडबारे जानकारी गराउने र सो प्रतियोगितामा विद्यार्थी सहभागिता बढाउने अभियानका साथ देशव्यापी सेमिनार गर्न लागेको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को सहकार्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहजीकरणमा प्रदेशस्तरमा सेमिनार गर्न लागिएको फाउन्डेसनका संस्थापक अध्यक्ष सर्जन बिसीले जानकारी दिए । उनका अनुसार विज्ञान शिक्षक समाज नेपाल, त्रि.वि. विज्ञान अनुसन्धान केन्द्र, प्याब्सन, एनप्याब्सनलगायतको सहकार्यमा प्रदेशमा एक दिने कार्यक्रम गर्न लागिएको हो । सहभागिताका लागि स्टेम फाउन्डेसनको वेवसाइट र फेसबुक पेजबाट रजिष्ट्रेसन गर्न सकिने विसीको भनाइ छ ।

प्रदेश १ मा साउन २६, प्रदेश २ मा साउन ३०, गण्डकीमा साउन ३२, प्रदेश ५ मा भदौ २, कर्णालीमा भदौ ४ र सुदूरपश्चिममा भदौ ७ मा कार्यक्रम गरिने छ । बागमती प्रदेशमा भने साउन १५ गते नै सेमिनार भइसकेको छ । कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेशमा शिक्षा हेर्ने मन्त्रीलगायतको सहभागिता रहने फाउन्डेसनले जनाएको छ।

भौतिक विज्ञान विषयबाट पहिलोपल्ट नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा ओलम्पियाडको प्रतिष्पर्धामा उपस्थिति जनाएको हो । त्यसपछि गणित, खगोल शास्त्र हुँदै जीव विज्ञान, रसायन शास्त्र हुँदै एकदर्जन जति अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको उपस्थिति रहेको छ ।

विगतमा विज्ञान विषयमा मात्र सहभागिता जनाइँदै आएकोमा हाल आएर अन्यविषयका ओलम्पियाडमा समेत नेपालको राम्रो सहभागिता रहेको छ । सन् १९५९ मा रोमानियाबाट गणित विषयमा ओलम्पियाडको शुरूवात भएको थियो तर नेपालले निकै ढिलो गरेर सन् २००६ मा मात्रभौतिक विज्ञान विषयबाट अन्तराष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति देखाएपनि सन् २०२० सम्म आईपुग्दा सम्पूर्ण अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालले सहभागिता जनाउने निश्चितभएको विसीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ओलम्पियाडमा विषयगत रूपमा ४ देखि ६ जनाले सहभागिता जनाउन सक्नेछन् जसका लागि राष्ट्रिय प्रतियोगिता अनिवार्य हुन्छ ।

प्रतिकृया दिनुहोस्