काठमाडौं। एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले प्रस्तावित विद्यालय शिक्षा सम्बन्धी संघीय शिक्षा विधेयक तत्काल संसदमा दर्ता गर्न माग गरेको छ । पछिल्लो समय विधेयक दर्ता हुन नदिन विभिन्न षडयन्त्र हुन थालेको ठहर गर्दै युएण्टोले त्यसको भण्डाफोर गर्ने जनाएको छ ।

अध्यक्ष शंकर अधिकारी र महासचिव कुलप्रसाद खतिवडाद्वारा जारी विज्ञप्तिमा ५२ वर्ष पछि संघियता र संघिय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुकूल विद्यालय शिक्षा ऐन आउन लागेको भन्दै नेपाली शैक्षिक जगतको आशा र अपेक्षामा तुषारापात हुनेगरी विधेयक दर्ता हुन नदिने षडयन्त्र सफल नहुने दाबी गरिएको छ ।

विधेयक दर्ता हुन नदिन अनावश्यक रुपमा सामाजिक सञ्जाल र कार्यक्रमहरुमा अफवाह फैल्याउने र फेरि पनि पुरानै तरिकाले शिक्षा क्षेत्रलाई अनिर्णयको बन्दी बनाउने दुष्प्रचार र हर्कत प्रति सचेत बन्न संगठनले सबैसँग आग्रहसमेत गरेको छ ।

प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० शिक्षक कर्मचारीका सबै माग मुद्दा सम्बोधन गरी शिक्षक कर्माचारी मैत्री र ट्रेड युनियन मैत्री आउनुपर्नेमा संगठनको जोड छ । विज्ञप्तिमा भनिएको छ– ‘नयाँ संघीय ऐनले विगतमा नेपाल शिक्षक महासंघ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय विच भएको ५१ बुँदे लगाएतका सबै सहमतिको कार्यान्वयन गरी सबैखाले अस्थायी प्रकृतिका बालविकास, विद्यालय कर्मचारी, राहत, साविक उच्च माध्यमिक शिक्षक, शिक्षण अनुदान छुट अस्थायी करार, प्राविधिक धार, विशेष शिक्षा, शहिद स्मृति विद्यालयका शिक्षकहरु तथा स्थायी शिक्षकहरुका माग मुद्दा सम्बोधन गरी गुणस्तरीय शिक्षा विकासको नयाँ बाटो तय गर्नु पर्दछ ।’

शिक्षकको पेशागत हक अधिकार विरोधी, सरकारसँग भएका संझौता विरोधी र वर्तमान लोकतान्त्रिक मूल्य मान्यता विरोधी प्रावधानहरुलाई तत्काल विधेयकबाट हटाउन समेत संगठनले जोडदार माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ–‘शैक्षिक आन्दोलनको बलमा विगतमा प्राप्त उपलब्धिहरु ट्रेड युनियन अधिकार, मानव अधिकार, स्वतन्त्रताको अधिकार, नेपालको संविधान २०७२ को भाग ३ धारा ३४ ले प्रदान गरेका अधिकार र लोककल्याणकारी राज्यबाट पेशाकर्मीलाई प्रदान गर्नुपर्ने हक अधिकार र सेवा सुविधा विपरीत का प्रावधानहरूको ऐनमा राख्ने दुस्प्रयास भएमा सशक्त आन्दोलनमा जानुको विकल्प छैन ।’

संधीय शिक्षा ऐन निर्माणको प्रक्रियालाई अगाडि बढाउँदै विगतमा संगठनले उठाउँदै आएका शैक्षिक माग मुद्दालाई सम्बोधन गराउन र नगरिएमा शिक्षक महासंघ मार्फत एकीकृत आन्दोलनको आँधीबेहरी सिर्जना गर्दै नेपाली शैक्षिक जगतका माग मुद्दा सम्बोधन गराउन युएण्टो प्रतिवद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

युएण्टोले वार्ता, संवाद, पहलकदमी तथा सशक्त आन्दोलनको दुवै बाटोबाट अगाडि बढ्दै शिक्षक कर्मचारी मैत्री र ट्रेड युनियन मैत्री विद्यालय शिक्षा ऐन निर्माणमा अगाडि बढ्न आह्वान पनि गरेको छ ।

यसै सन्र्दभमासंगठनको श्रावण २५. गते बसेको केन्द्रिय पदाधिकारी बैठकले विद्यालय शिक्षा विधेयक २०५० मा उल्लेखित असल पक्षको स्वागत गर्दै शिक्षा क्षेत्र र शिक्षक, कर्मचारीका हकहित विपरितका प्रावधानहरुलाई हटाई गुणस्तरीय प्रविधिमैत्री र समुन्नत शिक्षाको विकासको लागि शिक्षा विधेयकका अन्तरवस्तुहरुलाई समृद्ध बनाउन संगठनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष मान बहादुर पाण्डेको संयोजकत्वमा आन्दोलन परिचालन तथा समनवय समिति गठन गरिएको समेत विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

युएण्टो शैक्षिक विकास, गुणस्तरिय शिक्षामा हाम्रो क्षमता र चेतना अभिवृद्धि गर्न तथा शिक्षामा रहेका सबै खाले विभेद र विषमता हटाई शिक्षण पेशालाई आर्कषक र मर्यादित बनाउन प्रतिवद्ध रहेको समेत जनाइएको छ।

प्रतिकृया दिनुहोस्