काठमाडौं । प्रदेश ५ सरकारले सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने सबै छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गर्दै प्रदेश सरकारले समृद्धिको अभियानः छोरीहरूको पहुँचमा विज्ञान कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नका लागि प्रदेशका सामदायिक विद्यालयका कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत सबै छात्राहरू र स्नातक तहमा विज्ञान संकायमा अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्न २ करोड ५० लाख बजेटको व्यवस्था गरेको हो ।

सोमबार आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट सार्वजनिक गर्दै मुक्त कमैया, कमलरी, मुस्लिम, दलित र पिछडावर्गका छात्राहरूका लागि कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न २ करोड ५० लाख व्यवस्था गरेको जाननकारी दिए ।

प्रदेशको शिक्षा बजेट पूर्णपाठ
१. अभियानको रुपमा स्थानीय तहसँगको लागत सहभागितामा सार्वजनिक विद्यालयमा शौचालय निर्माण एवं खानेपानी तथा सरसफाइ सुविधा विस्तारका लागि रू. ७ करोड २० लाख र विद्यालयहरूमा अन्य पूर्वाधार निर्माणका लागि रू. ११ करोड गरी जम्मा रू. १८ करोड २० लाख विनियोजन गरेको छु । सार्वजनिक विद्यालयहरू विपद्को बेलाका जनआश्रयस्थल बन्ने गरेको यथार्थतालाई मनन गरी पूर्वाधारमा सुधार गरिनेछ ।

२. स्थानीय तह, सामुदायिक स्वास्थ्य संस्था, निजी स्वास्थ्य संस्था तथा गैर–सरकारी संस्थाको सह–लगानीमा विद्यालयमा परिचारिका कार्यक्रमको बिस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

३. प्रदेशको विकासको लागि आवश्यक प्राविधिक मानवपुँजी निर्माण गर्न विज्ञान, प्रविधि, गणित र ईन्जिनियरिङ (स्टेम) विषयलाई संस्थागत गरी विद्यालय शिक्षालाई रुपान्तरण गर्दै लगिनेछ । प्रदेशका सबै जिल्लामा (स्टेम) परियोजना सञ्चालन गर्न रू. ५ करोड विनियोजन गरेको छु ।

४. कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन गर्ने सामुदायिक विद्यालयहरूलाई आकर्षक शैक्षिक संस्थाको रुपमा विकास गर्नुका साथै उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई लक्षित गरी स्थानीय तहसँगको सह–लगानीमा सञ्चालनमा ल्याइएको नमूना विद्यालय कार्यक्रमलाई थप १२ वटा विद्यालयमा बिस्तार गरी २४ वटामा पुर्याइनेछ । नमूना विद्यालय कार्यक्रम बिस्तारका लागि रू. १२ करोड विनियोजन गरेको छु ।

५. सामुदायिक विद्यालयमै उत्कृष्ट विज्ञान शिक्षाको अवसर उपलब्ध गराउन बुटवलको कान्ति माध्यमिक विद्यालयलाई प्रदेशको विज्ञान विषय अध्ययन गर्ने हबको रूपमा विकास गरिनेछ । सुविधासम्पन्न भवन निर्माणको लागि रू. १० करोड ४ लाख विनियोजन गरेको छु ।

६. समृद्धिको अभियानः छोरीहरूको पहुँचमा विज्ञान कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नका लागि प्रदेशका सामदायिक विद्यालयका कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत सबै छात्राहरू र स्नातक तहमा विज्ञान संकायमा अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्न रू. २ करोड ५० लाख बजेटको व्यवस्था गरेको छु ।

७. मुक्त कमैया, कमलरी, मुस्लिम, दलित र पिछडावर्गका छात्राहरूका लागि कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न रू. २ करोड ५० लाख व्यवस्था गरेको छ ।

८. मुस्लिम समुदायका छात्राहरूको शिक्षामा सहभागिता वृद्धि गर्न बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीका ६ वटा विद्यालयहरूलाई मुस्लिम छात्राहरूको छात्रावाससहितको नमूना विद्यालयमा रुपान्तरण गर्न रू. ३ करोड विनियोजन गरेको छु।

९. प्रदेशलाई आवश्यक वन, कृषि, सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा जोड दिइनेछ । प्रदेश विश्वविद्यालय ऐन प्रदेश सभाबाट पारित हुनासाथ बाँकेको खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गरिनेछ । यसका लागि रू. ७ करोड विनियोजन गरेको छु ।

१०. विज्ञान र प्रविधिको क्षेत्रमा स्नातकोत्तर गर्दै गरेका युवालाई प्रदेशका सम्पदा र सम्भावनामा केन्द्रित रहेर शोध अनुसन्धान गर्नका लागि प्रदेश योजना आयोगमार्फत वर्षको १० विद्यार्थीलाई शोधवृति प्रदान गरिने व्यवस्था शुरू गरिनेछ । आगामी वर्षका लागि रू. १० लाख विनियोजन गरेको छु ।

११. विशेष आवश्यकता भएका बालबालिकालाई लक्षित गरी स्थानीय तह तथा नेपाल सरकारसँगको सह–लगानीमा रुपन्देहीको कञ्चन गाउँपालिकाको रुद्रपुर माध्यमिक विद्यालय परिसरमा आवासीय सुविधासहितको सुस्त मनस्थिति विशेष विद्यालय निर्माण गर्न रु. १ करोड र विशेष शिक्षा सहयोग कार्यक्रमका लागि रु. १ करोड गरी रू. २ करोड विनियोजन गरेको छु।

१२. विज्ञान–प्रविधि, अनुसन्धान तथा विकास, सिप विकास, सिप तथा सिपमूलक तालिमको नियमन, बहुप्राविधिक शिक्षालयको व्यवस्थापनका लागि प्रदेश सरकारको स्वामित्वमा प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्न रू. ५ करोड ६२ लाख विनियोजन गरेको छु । युवा जनशक्तिलाई रोजगारमूलक प्राविधिक शिक्षाका लागि रुकुम पूर्वको भुमेमा र दाङको तुल्सीपुरमा बहुप्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण गर्न रू. ९ करोड छुट्टाएको छु ।

१३. खेलकूदलाई निरोधात्मक स्वास्थ्य र उद्यमको रुपमा विकास गर्न खेलकुद पूर्वाधारको निर्माण गरी मुख्यमन्त्री रनिडशिल्ड लगायतका खेलकूद कार्यक्रमहरू सञ्चालन गर्न तथा निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरसिंह रंगशालालाई साफस्तरको रंगशालाका रूपमा निर्माण गर्न रू. १२ करोड ५० लाख विनियोजन गरेको छ । रुकुम पूर्वमा उच्च हिमाली खेलसंरचना निर्माण गरी पर्यटन प्रवद्धनको सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।

१४. कोभिड–१९ का कारण गुमेको रोजगारी पुनस्र्थापना गर्न इन्जिनियरिङ, विज्ञान, स्वास्थ्य र कृषिजस्ता क्षेत्रलाई लक्षित गरी प्रदेश स्वयंसेवक कार्यक्रमका लागि रू. १ करोड ५० लाख विनियोजन गरेको छु । यसबाट हाल यी क्षेत्रमा रहेको जनशक्तिको अभावलाई समेत सम्बोधन गर्न सहयोग मिल्नेछ ।

१५. कोभिड–१९ लगायतका महामारी र सामाजिक संकटको बेलामा समाजलाई योगदान दिनसक्ने युवा जनशक्ति तयार गर्न विद्यालयमा स्काउट तालिम सञ्चालनको लागि समेत बजेट विनियोजन गरेको छु ।

प्रतिकृया दिनुहोस्