मोरङ । दुई छात्रालाई यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई हदैसम्मको कारबाही माग गर्दै पीडितका आफन्तले मंगलबार जिल्ला अदालत मोरङ परिसर बाहिर प्रदर्शन गरेका छन् ।

उनीहरुले बालयौन दुर्व्यहार गर्नेलाई कडा कारबाही गर, दोषिलाई उन्मुक्ति दिन पाइँदैन, पीडित बालिकालाई न्याय देऊ लगायतको नारा लेखिएका प्लेकार्डसहित अदालत बाहिर प्रर्दशन गरेका थिए ।

विराटनगर-८ अशोक चौकस्थित रजाए मुस्तफा प्राथमिक विद्यालयका प्रअ अमिरुद्दिन भन्ने मोहम्मद अमिर मियाँले गत माघ ७ र ८ गते विद्यालयमा अध्ययनरत दुई जना छात्रालाई यौन दुर्व्यवहार गरेर फरार भएका थिए । ६ महिनापछि आत्मसमर्पण गरेका उनी विरुद्ध जिल्ला प्रहरी मोरङले बाल यौन दुर्व्यवहार सम्बन्धी मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता गराएको थियो ।

मुद्दा दर्ता भएपछि मंगलबारदेखि बयान सुरु भएको अदालतका श्रेस्तेदार इश्वरमणि ओझाले बताए । ‘प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस हुने र थुनछेक बहसमा वादी र प्रतिवादीका कानुन व्यवसायीहरूले बहस गरेपछि अदालतले आदेश दिन्छ,’ उनले भने, ‘थुनछेक बहसपछि अदालतले प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा राख्‍ने, धरौटीमा छोड्न वा साधरण तारेखमा छोड्ने आदेश हुनसक्ने कानुनी व्यवस्था छ ।’

गृहकार्य सुनाउन बहानामा कार्यकक्षमा बोलाएर प्रअ मियाँले भित्रबाट कोठाको चुकुल लगाइ यौन दुर्व्यवहार गरेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ । पीडित छात्रा भोलिपल्ट विद्यालय जान नमानेपछि घटनाको रहस्य खुलेको थियो ।

बाल यौन दुर्व्यवहार ठहर भए मुलुकी अपराध संहिता २०७४ को दफा २२५ को उपदफा (१) र (२) बमोजिम तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवना हुने कानुनी व्यवस्था छ । सोही कानुनी व्यवस्था अनुसार मागदाबीसहित अभियोग दर्ता गरिएको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला सहायक न्यायधिवक्ता मुकुन्दकुमार रेग्मीले बताए ।

देवनारायण साहले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्