खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रत्नकुमार बस्नेतले नक्कली कागजपत्र पेश गरेर रकम भुक्तानी गर्नखोजेको खुलास भएको छ। प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट भुक्तानी गर्न उनले नक्कली कागजपत्र पेश गरेको खुलेको हो। विद्यालयको पर्खाल निर्माणका लागि प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खोटाङ (ख) तर्फबाट विनियोजन भएको १० लाख रकम भुक्तानी गर्नका लागि प्रअ बस्नेतले नक्कली कागज बनाएर गाउँपालिकामा पेश गरेको पुष्टि भएको छ।

उनले सडकमा लगाइएको तारजालीको तस्बिर पेश गरेर गाउँपालिकामा रकम भुक्तानीका लागि निवेदन दिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राइले बताए। प्रअ बस्नेतले असार २२ गते पेश परेको कागजपत्र अध्ययन गर्दा विद्यालय पर्खालको सट्टा सडकमा राखिएको जालीको तस्बिर समावेश गरेको पाइएको उनले बताए।

नियतपूर्वक नक्कली कागजात पेश गरेर बजेट भुक्तानी गर्न खोजेको भन्दै गाउँपालिकाले बस्नेतलाई प्रधानाध्यापकबाट हटाएको छ। गाउँ शिक्षा समितिको सिफारिसका आधारमा आइतबारदेखि कार्यान्वयन हुने गरेर उनलाई पदबाट हटाइएको गाउँपालिका अध्यक्ष राइले जानकारी दिए।

नागरिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्