काठमाडौं । कोभिड महामारीको विपत्तिमा विद्यालय बन्द हुँदा र खुल्दा विद्यार्थी, शिक्षक तथा अभिभावकले सिकाइका लागि के कस्ता भूमिका निर्बाह गर्न सक्छन् भन्ने सचेतनात्मक सन्देश दिनेखालका ६ वटा पोस्टर सार्वजनिक गरिएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, आजको शिक्षा साप्ताहिक र सेभ द चिल्ड्रेनले संयुक्त रुपमा पोस्टर उत्पादन गरी शुक्रबार सार्वजनिक गरेका हुन् । ‘अभिभावक, शिक्षक र विद्यार्थीका लागि’ बनाइएका ती पोस्टरहरुको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले वेभिनार कार्यक्रममार्फत् सार्वजनिक गर्नुभएको हो ।

अभिभावक, शिक्षक र विद्यार्थी तीनै पक्षका लागि २–२ वटा पोस्टर बनाइएका छन् । सेभ द चिल्ड्रेनले ६ किसिमकै पोस्टरहरुलाई पहिलो चरणमा प्रदेश २ र कर्णाली प्रदेशमा वितरण गर्न ६० हजार प्रति छपाई भइसकेको जानकारी दिएको छ ।

पोस्टर सार्वजनिक कार्यक्रममा बोल्दै केन्द्रका महानिर्देशक पौडेलले भन्नुभयो, ‘यी पोस्टरहरु हाम्रा सम्पत्ति भएका छन् अब यी केन्द्रका वेभसाइटमा रहनेछन् । सिकाइ निरन्तरताका लागि अभिभावक, बालबालिका र शिक्षक तीनै पक्षलाई झक्झक्याउन पक्कै पनि सघाऊ पुग्नेछ ।’ उहाँले देशभरी रहेका करिव ३४ हजार विद्यालयहरुमा कम्तिमा एक–एक वटा पोस्टर पु¥याउन साझेदार संस्थालाई आग्रह गर्नुभयो । महामारीका अवधिमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अगुवाईमा सिकाइसम्बन्धी विभिन्न सामग्री तयार पारिएको र पोस्टर पछिल्लो नवीन कार्य भएको उहाँको भनाई थियो ।

कार्यक्रममा आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देलले सरकार र गैरसरकारी संस्थासँग मिलेर मिडियाले सशक्त सन्देश बनाउन सक्छ भन्ने उदाहरण पोस्टर हो भन्नुभयो । उहाँले ६ वटै पोस्टरको परिकल्पना, चित्राङ्कन, डिजाइन र सन्देश लेखनसम्मका प्रक्रियालाई सबिस्तार जानकारी दिनुभएको थियो ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी निर्देशक एवं पाठ्यक्रम तथा सामग्री शाखा प्रमुख सविता दङ्गालले पाठ्यक्रमको सिकाइ सक्षमताको मर्मअनुसार पोस्टर बनेका र सातै प्रदेशका लागि उपयोगी हुने बताउनुभयो । उहाँले प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरी पोस्टर तयार पारिएको पनि जानकारी दिनुभयो ।

प्रदेश २ को शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुयालले सिकाइ निरन्तरतामा सचेतनाका लागि पोस्टरहरु धेरै उपयोगी देखिएकाले तराई क्षेत्रका निम्ति मैथिली र भोजपुरी भाषामा पनि अनुवाद गरेर वितरण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश २ का सबै जिल्ला र स्थानीय तहमा पोस्टर पुर्याउन निर्देशनालयले सघाउने वचन दिनुभयो ।

सेभ द चिल्ड्रेनकी शिक्षा सल्लाहकार डा. लक्ष्मी पौड्यालले महामारीमा सिकाउन अपनाइएका सबैखाले माध्यम र उपायलाई पोस्टरमा नयाँ तरिकाले सम्बोधन गरिएको जानकारी दिनुभयो । उहाँले अनलाइन तथा रेडियो/टेलिभिजनबाट विमुख बालबालिकाको सिकाइमा अभिभावक सरिक गराउन पोस्टरले महत्वपूर्ण सन्देश दिनसक्ने बताउनुभयो । सेभ द चिल्ड्रेनकै शिक्षा विशेषज्ञ उद्धव भट्टराईले घरमा बालबालिकालाई सिकाउन अभिभावकले गर्नुपर्ने क्रियाकलाप र कर्तव्य पोस्टरहरुले सम्झाउनेछन् भन्नुभयो ।

शिक्षा पत्रकारहरु रोशन गाउँले क्षेत्री, कृष्ण मल्ल र प्रकाश सिल्वालले पोस्टरबाट सीमान्तकृत समुदायका बालबालिकाको सिकाइका लागि सचेतना पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

पोस्टरहरुमा अभिभावकले घरमा बालबालिकालाई सिकाउन गर्नुपर्ने क्रियाकलाप, उनीहरुको कर्तव्य, शिक्षकले विद्यालय खुल्दा तथा नखुल्दा अपनाउनुपर्ने शिक्षण विधि, सक्रियता र विद्यार्थीले सिक्न र लिन सक्ने सीपका विषयमा चित्रात्मक सन्देश राखिएका छन् ।

प्रतिकृया दिनुहोस्