चितवन । पोखरा महानगरले कोभिड–१९ को कारण घरमै रहेका बालबालिकालाई घरैबाट शिक्षा लिने व्यवस्था मिलाउने भएको छ ।

बुधवार पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जु गुरुङले नगरको सातौ सभामा आव २०७७/७८ को बजेट प्रस्तुत गर्दै विद्यार्थीलाई घरबाटै शिक्षा लिन व्यवस्थाको लागि आवश्यक समन्वय गर्न बजेट ब्यवस्था गरेको बताइन् ।

आव २०७७/७८ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँ अनुमानित बजेट सार्वजनिक गर्दै उपप्रमुख गुरुङले शिक्षातर्फ संघीय अनुदानबाट १ अर्ब २४ करोड ५६ लाख र आन्तरिक स्रोतबाट ५ करोड ७ लाख गरी १ अर्ब २९ करोड ६३ लाख बजेट विनियोजन गरेको जानकारी दिइन् ।

उनले अनुसन्धान र खोजमूलक शिक्षामा जोड दिँदै चालू आवमा साझेदारी गरिएका विद्यालयको नतिजाका आधारमा साझेदारी कायम गर्ने नीति लिइएको बताइन् । नतिजाको आधारमा एक प्रादेशिक निर्वाचन क्षेत्र एक उत्कृष्ट विद्यालय छनौट गरी पुरस्कृत गरिने जानकारी दिइन् ।

पोखरा प्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्दै महानगर अनुसन्धान तथा विकास केन्द्र, महानगर भित्र रहेका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको सहकार्यमा अध्ययन अनुसन्धान कार्य अगाडि बढाउँदै विज्ञान सम्मेलन गर्न आवश्यक बजेट व्यवस्था गरेको गुरुङले बताइन् ।

सिप विकास तथा रोजगारी केन्द्र मार्फत कोभिड–१९ को कारणले रोजगारी गुमाएका युवालाई प्रोत्साहन गरी नयाँ व्यवसायमा अनुकुलन गराउनका लागि सिप विकास तथा क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक प्रबन्ध मिलाएको गुरुङले बताइन् ।

प्रतिकृया दिनुहोस्