कविता: उदास उदास वर्तमान

Avatar photo

Byएजुकेशन पाटी

१ असार २०७७, सोमबार
पेशल आचार्य

शीर नभएका
मुर्कुट्टाहरू
धडनभएका
शीरहरू
इतिहासमा
थुप्रै पटक
विविध अभिनयका साथ
उफ्रिए
तमासा गरे
र जगतै हँसाए,

क्लान्त
मलिन र
मौन छ वर्तमान
छरिएका
शङ्काले घेरिएका
केही मुच्काले
खाएका
कोही बयेलिएर गलेका
सपनाहरू छन्
धुजाधुजा पारिएका
टुक्राटुक्रा गरिएका
सूचीकारका कैँचीले झैँ
असरल्लआफलिएका
विपनाहरू छन्,

भविष्यको निधार छामेर
मायाका पिरामिडहरू नियाल्दै
थालिएका उद्घोषित यात्राहरू
तन्द्रामा प्रवास कल्पेर
यौनका पिँङमा मच्चिँदा-मच्चिँदै
बूढोवयको मन
अझै कल्पनातीत डिभी चिठ्ठाको
र्याल काढेर रूँगिरहेछ,

प्रेमको जलवायु परिवर्तनले
मनका सुख्खा तलाउहरूमा
किन उत्तेजनाका रजहाँसहरू
पौडिदैनन् हँ हिजोआज ?
सामल सकिएर हो वा
ऊर्जा निखन्न नसकिएर
विद्रोहको
शनैः शनैः मानिस
विचारको वटवृक्षबाट
सबै पोशाक खोलेर झर्दैछ
निरूपाय भाँतीमा
पृथ्वीमा ।

प्रतिकृया दिनुहोस्