परीक्षा आइसक्यो, पुस्तक छैन

Avatar photo

Byएजुकेशन पाटी

४ भाद्र २०७९, शनिबार

पर्वत  । कुश्मा नगरपालिकाको शैक्षिक पात्रोअनुसार आगामी मंगलबारदेखि विद्यालय तहको पहिलो त्रैमासिक परीक्षा सुरु हुँदै छ । कार्यपात्रोअनुसार अहिलेसम्म विद्यालय तहको शिक्षाको करिब ५० प्रतिशत पढाइ सकिनुपर्ने हो ।

नगरपालिकाको शिक्षा शाखाको योजनाअनुसार नगरभित्रका विद्यालय पनि दिनमा दुई विषयका दरले चार दिनमा पहिलो त्रैमासिक परीक्षा सक्ने गरी तयारी गरेका छन् । तर विद्यार्थीको हातमा अझै पाठ्यपुस्तक पर्न सकेको छैन ।

गत जेठ १ देखि शैक्षिक सत्र सुरु गरिएको थियो । पढाइ सुरु भएको तीन महिना बितिसक्दा पनि पाठ्यपुस्तक उपलब्ध हुन नसक्दा विद्यार्थीको पठनपाठन रोकिने मात्रै नभएर शिक्षकसमेत अलमलमा परेका छन् । कक्षा ६, ७, ८ र ९ का पाठ्यक्रममा आधारित पुस्तकको अभाव भएपछि शिक्षक र विद्यार्थी समस्यामा परेका हुन् ।

अत्यावश्यक पाठ्यपुस्तक अभाव हुँदा विद्यार्थीमा मनोवैज्ञानिक र त्यसले पठन संस्कृतिमा समेत असर गर्ने शिक्षक बताउँछन् । ‘हामीले जेनतेन पाठ्यक्रम हेरेर त्यसकै आधारमा पढाएकै छौं,’ शिक्षक सञ्जय रेग्मी भन्छन्, ‘तर विद्यार्थीले घरमा नपढ्दिने, किताब छैन भन्दै गृहकार्य नगर्ने समस्या छ ।’ अघिल्ला वर्षमा कोरोनाका कारण बिग्रिएको पठन संस्कृति यसपालि पुस्तक अभावले बिगारेको शिक्षकको गुनासो छ ।

कुश्मास्थित नारायण माविका प्रधानाध्यापक गोविन्द पोखरेलले आधा पढाइ सकिने बेलासम्म पुस्तक अभाव हुनुले राज्यको शिक्षाप्रति हेर्ने नजर उदाङ्गिएको टिप्पणी गर्छन् । ‘हाम्रो सरकार शैक्षिक क्षेत्रप्रति कति जिम्मेवार छ भन्ने कुरा यसैबाट प्रस्ट हुन्छ,’ उनले भने, ‘शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा हाम्रो सरकारले अरू सबै काम सकेपछि मात्रै यसमा समय दिँदा यो समस्या आइपरेको छ ।’ परीक्षा सुरु हुने बेलासम्म पनि पाठ्यपुस्तकको अभाव हुनुले सरकारलाई गिज्याइरहेको उनले बताए ।

पर्वतको दक्षिणी क्षेत्रका केही पालिकामा, स्याङ्जाको वालिङ तथा पर्वतकै उत्तरी क्षेत्रको जलजलामा म्याग्दीबाट पुस्तक आपूर्ति हुने गरेको छ । तर, ती पालिकाका विद्यालयमा समेत कक्षा ७ र ९ का पाठ्यपुस्तकको अभावै रहेको विद्यालयले जनाएका छन् । मोदी गाउँपालिका र फलेवास नगरपालिकाका केही विद्यालयमा भने सिधै पोखराबाट पुस्तक बिक्री हुने गरेको छ । ती विद्यालयमा समेत पाठ्यपुस्तकको अभाव रहेको कार्कीनेटास्थित अन्नपूर्ण माविका शिक्षक जगत पराजुली बताउँछन् । कुश्मा नगरपालिकाको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारीले पुस्तक छपाइ तथा वितरण केन्द्रबाटै हुने भएकाले नगरपालिकाको यसमा कुनै भूमिका नहुने बताए ।

‘हामीले शैक्षिक क्यालेन्डर पुस्तक आयो, आएन भनेर बनाउने होइन, समयअनुसार बनाउने हो,’ उनले भने, ‘शैक्षिक क्यालेन्डरसँग पाठ्यपुस्तकको कुनै सम्बन्ध हुँदैन । समयमा पढाइ पूरा गर्न क्यालेन्डर सोहीअनुसार बनाउनुपर्छ ।’ केही विद्यालयले इन्टरनेटमा उपलब्ध रहेका शैक्षिक सामग्री, पाठ्यक्रमलगायतका सामग्री खोजेर विद्यार्थीलाई सहजीकरण गर्न नगरपालिकाले विद्यालयलाई आग्रह गरेको उनले बताए ।

पुस्तक विक्रेताका अनुसार जनक शिक्षा सामग्री केन्द्रले छापेर पठाउने सबैजसो पुस्तकको अभाव छ । पर्वतका पुस्तक विक्रेता जयदुर्गा स्टेसनरीका सञ्चालक गणेश पौडेलका अनुसार कक्षा ८ को सामाजिक, नैतिक र कक्षा ९ को नेपाली, कक्षा ६ को अंग्रेजी, कक्षा ११ को अंग्रेजी र सामाजिक, १२ कक्षाको अंग्रेजी र नेपाली विषयका पुस्तकको अभाव छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिकृया दिनुहोस्