काठमाडौँ । कोरोना भाइरसको संक्रमणको जोखिम रहेको भन्दै सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् । सरकारले ठूला सहरका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले विरोध जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा प्रस्ताव लगेको थियो । प्रमुख शहरमा तीन सातासम्म विद्यालय बन्द गर्ने र अनलाइनमार्फत पठनपाठन गर्ने विषयमा शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा छलफल भएको थियो । यद्यपि यो विषयमा निर्णय भइसकेको छैन ।

यता प्याब्सनले भने मुलुकभरका सबै विद्यालय बन्द गर्दा क्षैत्रिक क्षेत्रमा ठूलो असर पर्ने भन्दै त्यसको विरोध गरेको छ । पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गर्ने र त्यसका लागि वातावरण बनाइदिन सरकारसँग माग गरेको छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय नियमित रुपमा सञ्चालन हुन दिनुपर्ने र त्यसका लागि सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने माग राखेका हुन् ।

‘मुलुकभरि कोरोना संकमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केही निश्चित समयका लागि मात्र प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरू अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गरिदिनहुन नेपाल सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्याब्सनले विद्यार्थी, शिक्षक र कर्मचारिलाई खोपको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य मापदण्ड पूर्णतः पालना गर्नुपर्ने तर बन्द भने गर्न नहुने बताएको छ । ‘आवश्यकता अनुसार शिक्षालयहरूमा तातोपानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेसन कक्ष, भौतिक दूरीको व्यवस्थापन जस्ता कार्यहरू सरकारका सम्बन्धित निकायहरूको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयहरूमा कार्यरत शिक्षक-कर्मचारीहरूलाई कोभिड-१९ विरुद्धको खोपको प्रबन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले सरोकारवालालाई छलफलका लागि बोलायो

विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विहान ८ बजे बोलाएको छ । बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो । विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले बोलाएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए । उनले भने ‘भोलिको छलफलबाट कसरी अगाडी बढ्ने भन्‍ने निष्कर्ष निस्किन्छ ।’

प्याब्सनले भने सरकार काठमाडौं सहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टिका पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ती जारी गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताएका छन् । कोरोना संक्रमणको दर देशभर नहुने भएकाले अत्यन्तै आवश्यक भए सम्बन्धिन्त विद्यालय वा सम्बन्धित पालिकामा मात्र निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गर्न र अन्‍य ठाउँमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिन प्‍याबसनले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्