काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा सबै पक्षको ध्यान जान जरुरी रहेको बताएका छन्। सार्वजनिक शिक्षाको रुपान्तरणका लागि राजनीतिक क्षेत्रमा अत्यन्तै कम चिन्तन हुने गरेको भन्दै उनले सार्वजनिक शिक्षा नसुध्रेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताए।

पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै शिक्षामन्त्री खनालले देशमा निजी र सार्वजनिक विद्यालयमा दिइने शिक्षामा देखिएको भिन्नताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

आफ्नो राजनीतिक यात्रा अघि १० वर्षदेखि दुर्गममा रहेका सार्वजनिक विद्यालय सुधारमा लागेको स्मरण गर्दै उनले दुईखाले शिक्षाले भविष्यमा विकराल समस्या ल्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरे । उनले पद्मकन्या विद्याश्रमले सार्वजनिक शिक्षाको सुधारमा पुर्याएको योगदानको चर्चा गर्दै विद्यालयले सीपमूलक शिक्षा प्रदान गर्नमा निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरे। मन्त्री खनालले नयाँ शिक्षाले समाजमा उद्यमशीलताको विषयलाई प्राथमिकतामा राख्न सकेमा मुलुकको विकास र समृद्धि कायम गर्न सकिनेमा जोड दिए।

बागमती प्रदेशका सभामुख भुवन पाठकले तत्कालीन समयमा पनि पद्मशम्शेरले छात्राका लागि मात्र शिक्षा प्रदान गर्न अलग्गै विद्यालय खोल्ने कार्य आफैँमा क्रान्तिकारी कदम भएको विचार व्यक्त गरे।

उनले विद्यालयले उत्पादन गरेका दक्ष जनशक्तिले प्रजातन्त्र स्थापनाका लागि प्रवाह गरेको ज्ञानबाट २००७ को क्रान्तिलाई सफल बनाउन बलियो आधार तयार गरेको उल्लेख गर्दै विद्यालयलाई थप व्यवस्थित बनाउनपर्ने बताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रिता तिवारीले स्तरीय शिक्षा प्रदान गर्ने सरकारी अभियानमा आफूहरू सधैँ लागि रहने प्रतिवद्धता जनाइन । विद्यालय स्तरिय र जीवनपयोगी शिक्षा दिन सधैँ तल्लीन रहने पनि उनको भनाइ थियो ।


सो अवसरमा बागमती प्रदेशसभाका सभामुख  पाठकले स्कुलका शिक्षक, विद्यालयका पूर्व प्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्व तथा वर्तमान पदाधिकारी र सदस्यहरू तथा विद्यालयका दाताहरूलाई सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य दीपेन्द्र श्रेष्ठ तथा सुरजचन्द्र लामिछानेलगायतको उपस्थिति थियो ।हीरक महोत्सवका अवसरमा शैक्षिक एवम् अतिरिक्ति क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यस्तै दीर्घसेवी शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीहरूलाई पनि सम्मानित गरिएको थियो ।

हीरक महोत्सवका अवसरमा विद्यालयमा विज्ञान प्रदर्शनी आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा विभिन्न विद्यालयका बालबालिका सहभागी थिए। महोत्सव अवलोकनका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायत विद्यालयमा पुगेका थिए।

यस्तै महोत्सवकै अवसरमा विद्यालयले प्रभातफेरी आयोजना गरेको थियो। नर्सरीदेखि १२ सम्म अध्यापन गराइने विद्यालयमा करिब आठ सय विद्यार्थी अध्ययनरत छन्। २००४ मा सुधारवादी प्रधानमन्त्री पद्मशम्शेरले सञ्चालन गरेको विद्यालयले हाल उच्च शिक्षामा मानविकी, शिक्षाशास्त्र, वाणिज्य, इन्जिनियरिङ, सौन्दर्यशास्त्र  लगायत विषयमा अध्यापन गराउँदै आएको छ।

प्रतिकृया दिनुहोस्