भक्तपुर । संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) ले जोर-बिजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरी विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ । एक महिनाको मासिक पढाई शुल्क छुट गरी अन्य शुल्कहरु संकलन गर्न पाउने व्यवस्था हुनुपर्ने माग पनि उनीहरुले गरेका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संघका प्रतिनिधिमण्डलले शुक्रबार निजी विद्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धमा बुझाइएको ध्यानाकर्षण पत्रमा नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तकलगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरण निर्माण गरिदिन, विद्यालयहरुमा आवश्यक पूर्वाधार व्यवस्थापनसहित जोर—बिजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गरी विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरिएको छ ।

साथै, क्वारेन्टिनका लागि प्रयोग भएका विद्यालयहरुको स्थानान्तरण र निर्मलीको व्यवस्थापन गरिदिन, शैक्षिक क्यालेन्डरका सार्वजनिक बिदा, जाडो बिदालगायत अन्य बिदा कटौती गरी नयाँ शैक्षिक क्यालेन्डर निर्माण, १ महिनाको मासिक पढाई शुल्क छुट गरी अन्य शुल्कहरु संकलन गर्न पाउने व्यवस्था, विद्यालयमा कार्यरत शिक्षक-कर्मचारीहरुको तलबभत्तालगायत अन्य खर्चको व्यवस्थपनको निम्ति उचित सहयोगको व्यवस्था र घर-जग्गा बहाल कर, व्यवसायिक करलगायत अन्य महसुलहरुमा छुटको व्यवस्थाको निम्ति भक्तपुर नगरपालिकालाई अनुरोध गरिएको छ ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले लकडाउनका कारण देशभरका विद्यालय, उद्योग-व्यवसायहरु ठप्प रहँदा देशको अर्थतन्त्र खस्किँदै गएको बताउँदै रोगको सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाल सरकारले गरेको लकडाउनको पालना गर्नु सबैको साझा दायित्व भएको बताए । उनले सिंगो समाजलाई कोभिड १९ को संक्रमण फैलनबाट कसरी जोगाउने भन्ने विषयमा नगरपालिकाले गम्भीरतापूर्वक आवश्यक सतर्कता अपनाउँदै आएको बताउँदै संकटको घडीमा कक्षामा विद्यार्थी भेला गरेर पढाउन भन्दा विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्नु नै उचित हुने बताए ।

सम्भावित जोखिमलाई ध्यानमा राखी भक्तपुर नपाले नजिकिंदै गरेको घण्टाकर्ण, गुँला पर्व, गाईजात्रालगायतका पर्वहरुलाई औपचारिकतामामात्र सीमित गर्न नगरबासीहरुमाझ अनुरोध गरिसकेको बताउँदै उनले कोभिड-१९ को संक्रमण समुदायस्तरमा फैलिन नदिन सम्बन्धित सबैले आ-आफ्नो ठाउँबाट सहयोगको लागि आग्रह गरे ।

नागरिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्