बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करिब २ करोड १० लाखमा बन्दै गरेको दर्वाह उद्यानको भौतिक पूर्वाधार तोडफोड गरिएको छ। स्थानीय विरेन्द्र माध्यमिक विद्यालयका प्राधानाध्यापक कृष्ण चौधरीसहितको समूहले उद्यानको पर्खाल, तार जाली र फलामका पोल भाचेको गाउँपालिकाले जनाएको छ।

पुरातत्व विभागले अध्ययन गरिरहेको दर्वाह मन्दिर छेउमा गाउँपालिकाले रमणीय पार्क बनाइरहेको छ। आर्थिक वर्ष ०७३/०७४ बाटै भइरहेको काममा प्रधानाध्यापक चौधरीसहित शेरबहादुर काफ्ले र विपिन कुर्मी नेतृत्वको टोलीले अवरोध गर्दै बन्दै गरेका संरचना भत्काएको हो। गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरीले तीन जनाको टोलीले सोझा गाउँलेलाई उचालेर संरचना भत्काउन लागएको बताए। ‘पालिकामा माग पत्र लिएर आउनु भएको थियो, हामीले वार्ता टोली बनाएर समाधान गर्न खोजिरहेका थियौं, तर एकाएक संरचना भत्काउने काम भएको छ’ उनले भने। दर्वाह मन्दिरको छेउमा रहेको नदी तटमा मनोरञ्जनात्मक पार्क बनाउन गुरुयोजना बनाइएको छ। यहाँ दुई वर्षअघिसम्म शवदाह स्थल रहेको थियो। गाउँपालिकाको कार्यालय, मानपकडी स्वास्थ्यचौकी र बजार विकास भएकाले शवदाह स्थल हटाई पालिकाले पार्क बनाउन थालेको थियो। केही स्थानीयले शवदाह स्थल नै हुनुपर्ने भन्दै अडान लिएका छन्।

गाउँपालिकाले राजनीतिक आस्थाका आधारमा विकासको विरोध गरिएको जनाएको छ। शवदाह स्थललाई बस्तीबाट टाढा लैजानका लागि पालिकाले २० लाख रुपैयाँ छुट्याएको छ। पालिकाभित्र अहिले तीन स्थानमा शवदाह हुदै आएको छ। पार्क निर्माणका लागि प्रदेश सरकारले ८० लाख र गाउँपालिकाले १ करोड ३० लाख रुपैया खर्च गर्दैछन्। सो स्थानमा ढुंगा सञ्चालन भइरहेको छ। हरेक वर्ष लाग्ने मेलालाई लक्षित गरी रमणीय पार्क बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले बताए। ‘यो लुम्बिनीसंग जोडिएर पर्यटकीय विकास गर्ने योजनासहित बनेको पार्क हो’ उनले भने।

पार्क निर्माणको गुरुयोजना बनाउदा कसैले पनि विरोध गरेका थिएनन्। पछिल्लो समय केही व्यक्तिहरुले बखेडा झिकेर विकासमा अवरोध गरिरहेको पालिकाले जनाएको छ। अध्यक्ष चौधरीले तीन जना व्यक्ति किटान गरेर सार्वजनिक सम्पत्ती क्षति गरेको भन्दै मुद्धा दायर गरिने बताए। उनीहरुबाट क्षतिपूर्ति समेत भराइने उनको भनाई छ। गाउँपालिकाले घटना हुनु अघि जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई जानकारी गराएको थियो। प्रहरीको सानो समूह त्यहाँ पुगे पनि मुकदर्शक बनेको पालिकाले जनाएको छ।

लक्ष्मण पोखरेलले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्