काठमाडौं । केही स्थानीय तहहरुले गरेको विद्यालय खोल्ने निर्णय प्रति नेपाल शिक्षक संघले गम्भिर आपत्ति जनाएको छ । विद्यालय सञ्चालन गर्न संघले ५ शर्त अगाडि सारेको छ ।

आइतबार संघका महासचिव सोमनाथ गिरीले एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय सरकारका तर्फबाट शिक्षकहरुलाई विद्यार्थीहरुसहित विद्यालयमा उपस्थित भई पठनपाठन कार्यलाई सुचारु गर्नका लागि दबाब दिइरहेको सूचनाले संघलाई अत्यन्तै संवेदनशील र गम्भीर बनाएको बताएका छन् ।

‘संक्रमितहरु दिनानुदिन ठूलो संख्यामा थपिदै गइरहेको अवस्था साथै, मुलुकका सयौं सामुदायिक विद्यालयहरुमा कोरोना संक्रमितहरु र कोरोनाका शंकास्पद संक्रमितहरु राख्नका लागि क्वारेन्टिन तथा आइसोलेसन वार्डहरु निर्माण गरिएको परिवेशमा कतिपय स्थानीय सरकारका तर्फबाट शिक्षकहरुलाई विद्यार्थीहरुसहित विद्यालयमा उपस्थित भई पठनपाठन कार्यलाई सुचारु गर्नका लागि दबाब दिइरहेको सूचनाले नेपाल शिक्षक संघलाई अत्यन्तै संवेदनशील र गम्भीर बनाएको छ’– विज्ञप्तिमा भनिएको छ ।

संघले विद्यालय खोल्न सम्पूर्ण शिक्षाकर्मीहरुको अनिवार्य रुपमा स्वास्थ्य बीमाको प्रबन्ध गर्नुपर्ने, सम्पूर्ण शिक्षाकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्रीहरु (पिपिई) उपलब्ध गराउनुपर्ने साथै, सबै विद्यालयहरुमा स्वास्थ्यकर्मी र स्वास्थ्य सुरक्षा सामग्रीहरुको प्रबन्धसहित हेल्थडेस्कको व्यवस्थापन गरिनुपर्ने शर्त राखेको छ । यस्तै, विद्यालय प्रवेश गर्नुपूर्व सबै विद्यार्थी तथा शिक्षाकर्मीको कोरोना परीक्षण (पिसिआर) नगराइ विद्यालय खोल्न नहुने संघले स्पष्ट पारेको छ ।

नेपाल शिक्षक संघको विज्ञप्ति
कोरोना भाइरस संक्रमणको महामारीका कारण विश्व मानवजगत आतंकित भइरहेको, लाखौंको संख्यामा मानिसहरुको मृत्य भइसकेको र नेपालमा पनि यसको प्रभाव निरन्तर र तीव्र रुपमा बढ्दै गइरहेको साथै संक्रमितहरु दिनानुदिन ठूलो संख्यामा थपिदै गइरहेको अवस्थामा मुलुकका सयौं सामुदायिक विद्यालयहरुमा कोरोना संक्रमितहरु र कोरोनाका शंकास्पद संक्रमितहरु राख्नका लागि क्वारेन्टिन तथा आइसोलेसन वार्डहरु निर्माण गरिएको परिवेशमा कतिपय स्थानीय सरकारका तर्फबाट शिक्षकहरुलाई विद्यार्थीहरुसहित विद्यालयमा उपस्थित भई पठनपाठन कार्यलाई सुचारु गर्नका लागि दबाब दिइरहेको सूचनाले नेपाल शिक्षक संघलाई अत्यन्तै संवेदनशील र गम्भीर बनाएको छ । संक्रमणको भय र स्वास्थ्य असुरक्षाका बीचमा विद्यालयहरु सुचारु गर्न गरिएका निर्देशनहरू वर्तमानमा स्वास्थ्यसुरक्षा र संक्रमण रोकथामका दृष्टिकोणले उपयुक्त नभएको निष्कर्ष नेपाल शिक्षक संघको रहेको छ ।

यथास्थितिमा विद्यालयका शैक्षिक गतिविधिहरु सञ्चालन गर्न सकिने अवस्था नभएकाले विद्यालयहरुमा औपचारिक शिक्षण क्रियाकलापहरु सञ्चालन गर्नपूर्व नेपाल सरकारका तर्फबाट अपनाउनुपर्ने सजगता र शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्नका लागि निम्नानुसारको प्रबन्ध अत्यावश्यक भएकोले अनिवार्य रुपमा सोहीबमोजिमको व्यवस्थापनपश्चात् मात्रै विद्यालयमा शिक्षण गतिविधिहरु सुचारु गर्न सकिने अनुरोधका साथ तपसिलबमोजिमका न्यूनतम अत्यावश्यकीय व्यवस्थापन गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।

१. सामुदायिक विद्यालयहरुमा राखिएका क्वारेन्टिनहरु तथा आइसोलेसन बार्डहरु हटाइनुपर्ने र विद्यालयहरुलाई पूर्णरुपमा स्यानिटाइजिङको प्रबन्धसहित सरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्ने ।
२. सम्पूर्ण शिक्षाकर्मीहरुको अनिवार्य रुपमा स्वास्थ्य बीमाको प्रबन्ध गर्नुपर्ने ।
३. सम्पूर्ण शिक्षाकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्रीहरु (पिपिई) को उपलब्धता हुनुपर्ने ।
४. सबै विद्यालयहरुमा स्वास्थ्यकर्मी र स्वास्थ्य सुरक्षा सामग्रीहरुको प्रबन्धसहित हेल्थडेस्कको व्यवस्थापन गरिनुपर्ने ।
५. विद्यालय प्रवेश गर्नुपूर्व सबै विद्यार्थी तथा शिक्षाकर्मीको कोरोना परीक्षण (पिसिआर) गरिनुपर्ने ।

जय नेपाल ।

सोमनाथ गिरी
महासचिव

प्रतिकृया दिनुहोस्