बर्दिया । आफुले भने जसरी शिक्षकहरुको सरुवा हुनुपर्ने भन्दै नेपाल शिक्षक संघले ठाकुरबाबा नगरपालिकामा तालाबन्दी गरेको छ । नेपाल शिक्षक संघ नगर समिति बर्दियाले नगरपालिकाले ल्याएको शिक्षकहरुको सरुवा सम्बन्धी नियम खारेजीको माग गर्दै आइतबारदेखि तालाबन्दी गरेको हो ।

नगरपालिकाले स्वाच्छाचारी तरिकाले शिक्षकहरुको सरुवा गर्ने, आतंकित बनाउने कार्य भएको भन्दै तालाबन्दी गरिएको नेपाल शिक्षक संघ नगर समिति ठाकुरबाबाका अध्यक्ष खडकप्रसाद उपाध्यायले बताए । विभेदपूर्ण व्यवहारका कारण तालाबन्दीमा उत्रिनु परेको र माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने उनले स्पष्ट पारे ।

उपाध्यायका अनुसार नगरपालिकाले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शिक्षक दरबन्दी मिलान कार्यविधि २०७४ र नगर शिक्षा ऐन २०७५ र शिक्षक व्यवस्थापन कार्यविधि २०७४ का सम्पूर्ण प्रावधान समेतलाई पन्छाउँदै स्वविवेक र स्वेच्छाचारी प्रवृत्तिबाट राजनितिक आस्थाका आधारमा आफु अनुकुल नभएका व्यक्तिलाई पन्छाउने र तह लगाउनेका लागि विभेदपूर्ण शिक्षक सरुवा नियम ल्याइएको छ ।

त्यसका विरुद्ध नेपाल शिक्षक संघले शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मार्फत नगर शिक्षा समितिलाई विरोध पत्र बुझाइ निर्णय खारेज नभए सम्मका लागि शिक्षा शाखामा तालाबन्दी गर्ने जनाएको छ ।

त्यस्तै विद्यालय र शिक्षा शाखामा आउँदा हातमा कालोपट्टि बाँधेर र घाँटीमा विभेदपूर्ण शिक्षक सरुवा खारेज गर लेखिएको प्लेकार्ड झुन्ड्याएर विरोध गर्ने उपाध्यायले बताए । माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अगाडि बढाउने निर्णय संघले गरेको छ ।

प्रतिकृया दिनुहोस्