काठमाडौं । एसईईको मूल्याङ्कन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न निजी विद्यालयहरुलाई निर्देशन दिइएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन)ले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

प्याब्सनका महासचिव कुमार घिमिरे र एनप्याब्सनका महासचिव सुवास न्यौपानेद्वारा जारी विज्ञप्तिमा विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन गर्दा स्वतन्त्रता र निश्पक्षताको सिद्धान्त अपनाई विद्यार्थीहरुको सहि मूल्याङ्कन गर्न र विद्यालयले गरेको मूल्याङ्कनका प्रमाणित आधारहरु अभिलेख राख्न भनिएको छ ।

यस्तै, नतिजाको सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अपनाउनुपर्ने गोपनीयता कायम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

विद्यालयहरुले गर्ने आन्तरिक मूल्याङ्कनका सम्बन्धमा विभिन्न टिकाटिप्पणीहरु, शंका उपशंकाहरु व्यक्त गरिएको सन्दर्भमा विद्यालयहरुले आफ्ना वारेमा शृजित भ्रमहरुलाई चिर्दै आफ्नो इमान्दारिता प्रस्तुत गर्ने मौका प्राप्त गरेका विज्ञप्तिमा उल्लेख छ ।

उक्त विश्वासलाई डगमगाउन नदिइ विद्यालयहरु प्रतिको जनविश्वासलाई थप उचाइमा पुर्याउने जिम्मेवारी विद्यालयहरुको काँधमा आइपरेको वित्रप्तिमा जनाइएको छ ।
कोभिड–१९ का कारण सरकारले यो वर्ष एसईई नगर्ने भएपछि आन्तरिक मूल्याङ्कनका आधार नतिजा सार्वजनिक गर्न लागिएको हो । २०७६ चैत ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्याउन निर्देशन दिएको छ । विद्यालयहरूले भने असार २० गते भित्रै शिक्षा विकास तथा समन्वय इकाईमा नतिजा पठाइ सक्नुपर्नेछ ।

विद्यार्थीहरूलाई मूल्याङ्कन समितिले तयार पारेको नतिजाको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र प्रदान गर्नेछ ।

हेर्नुहोस् विज्ञप्ति
माध्यमिक शिक्षा परीक्षा (एसईई)आन्तरिक मूल्याङ्कन सम्बन्धि प्याब्सन तथा नेसनल प्याब्सनद्वारा संयुक्त रुपमा सदस्य विद्यालयहरुका लागि जारी निर्देशन

प्रस्तुत विषयमा २०७६ सालको माध्यामिक शिक्षा परीक्षा कोभिड–१९ को महामारीले शृजना गरेको परिस्थितिजन्य बाध्यताको कारण नियमित रुपमा तोकिएको समयमा सञ्चालन हुन नसकेको सन्दर्भमा सरोकारवालाहरुसँग छलफल समेत गरी नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७–२–२८ गतेको बैठकले विद्यालयद्वारा गरिएका अन्तिम मूल्याङ्कन विवरण सम्बन्धित विद्यालयहरुले शिक्षा, विकास तथा समन्वय इकाइमा पठाउने, सम्बन्धित शिक्षा, विकास तथा समन्वय इकाइहरुले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले आवश्यक कार्यविधि निर्माण गरी परीक्षाफल तयार गर्ने, प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्ने भन्ने निर्णय गरेको हुँदा सो सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको मिति २०७७–३–८ को निर्णय अनुसार कार्यविधि स्वीकृत भएकोले सो बमोजिम विद्यार्थीहरुले प्राप्त गरेको अन्तिम प्राप्ताङ्क पठाउने कार्यका लागि मिति २०७७–३–१० मा कार्यविधि सहितको सूचना प्रकाशित गरेको सर्वविदितै छ ।

विद्यालयहरुले गर्ने आन्तरिक मूल्याङ्कनका सम्बन्धमा विभिन्न टिकाटिप्पणीहरु, शंका उपशंकाहरु व्यक्त गरिएको सन्दर्भमा विद्यालयहरुले आफ्ना वारेमा शृजित भ्रमहरुलाई चिर्दै आफ्नो इमान्दारिता प्रस्तुत गर्ने मौका प्राप्त गरेका छन् भन्ने हामीलाई विश्वास लागेको छ ।

उक्त विश्वासलाई डगमगाउन नदिइ विद्यालयहरु प्रतिको जनविश्वासलाई थप उचाइमा पुर्याउने जिम्मेवारी विद्यालयहरुको काँधमा आइपरेको छ । विद्यालयले आन्तरिक मूल्याङ्कन गर्दा आफ्नो दायित्व, जवाफदेहिता र इमान्दारिताको पूर्ण रुपमा पालना हुने गरी निम्नानुसार गर्नु गराउनु हुन सबै सदस्य विद्यालयहरुलाई निर्देशित गरिन्छ ।

१. आफ्नो विद्यालयको कम्तीमा विगत ३ वर्षको एसईई परीक्षाफलको समेत अध्ययन गरी यस वर्षको मुल्याङ्कन गर्ने ।
२. २०७६ सालमा विद्यालयहरुले लिएका आन्तरिक तथा सामूहिक परीक्षामा विद्यार्थीहरुको प्राप्ताङ्कहरुको अध्ययन गर्ने ।
३. विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कन गर्दा स्वतन्त्रता र निश्पक्षताको सिद्धान्त अपनाई विद्यार्थीहरुको सहि मूल्याङ्कन गर्ने र विद्यालयले गरेको मूल्याङ्कनका प्रमाणित आधारहरु अभिलेख राख्ने ।
४. राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अपनाउनु पर्ने गोपनीयता कायम राख्ने ।
५. नतिजाका सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्ने ।

सुवास न्यौपाने
महासचिव
नेसनल प्याव्सन

कुमार घिमिरे
महासचिव
प्याब्सन

प्रतिकृया दिनुहोस्