काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले बुधवार प्रावि तहको सातै प्रदेशको स्थायी अध्यापन अनुमतिपत्र(शिक्षक लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ । नतिजा निराशाजनक देखिन्छ । औषतमा परीक्षामा सहभागी ५ प्रतिशतमात्रै उत्तीर्ण भएको पाइएको छ ।

यस्तै आयोगले बुधवार नै सूचना जारी गरेर कूलप्राप्तांक हेर्ने, नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाउने र उत्तीर्ण उम्मेदवारको व्यक्तिगत विवरण फरक परेमा सच्याउन सक्ने व्यवस्था गरेको छ ।

व्यक्तिगत विवरण फरक परे कसरी सच्याउने ?
आयोगले स्थायी अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन हुँदा सफल उम्मेदवारको व्यक्तिगत विवरण फरक परेको भए संलग्न निवेदनमा पुरा विवरण भरी यस आयोगको ईमेल ठेगाना [email protected] मा पठाउन भनेको छ ।

नतिजामा चित्त नबुझे के गर्ने ?
लिखित परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले तोकिएको ढाँचा अनुसारको निवेदन र २५० को राजस्व दस्तुर दाखिला गरेको सक्कलै भौचरको स्क्यान प्रति आयोगमा पठाउनुपर्ने छ । उक्त निवेदन यही असार १२ गते भित्र आयोगको ईमेल ठेगाना [email protected] मा पठाउन पर्ने आयोगले स्पष्ट पारेको छ ।

पुनर्योगको लागि राष्ट्रिय वाणिज्य वैकको खाता नं १०००२०००१०००० कार्यालय कोड ३५०२३३०३ मा र नेपाल बैंक लिमिटेडको खाता नं ००१०१००००००००१००१०१ कार्यालय कोड ३५०२१३३०३ र राजश्व शीर्षक नं १४२२४ मा शिक्षक सेवा आयोगको नाममा रकम जम्मा गर्नुपर्ने आयोगले जनाएको छ ।

निम्नमाध्यमिक तहका सामाजिक र नेपाली विषयका उम्मेदवारले मिति २०७७ असार १० गते भित्र पुनर्योगको लागि [email protected] मा निवेदन गर्ने समय थप गरिएको आयोगले स्पष्ट पारेको छ ।

कुल अंकप्राप्तांक कसरी थाहा पाउने
आयोगले प्राथमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को लिखित परीक्षाको नतिजामा प्राप्त गरेको कुल अंक हेर्ने व्यवस्था गरेको छ ।

आयोगका अनुसार परीक्षार्थीले मोवाइलको म्यासेज बक्समा गएर टिएससी(TSC) टाइप गरी एक स्पेश दिएर प्रवेशपत्रमा रहेको टिएससी एप्लीकेशन आइडी नम्बर टाइप गरी ३१००७ नम्बरमा एसएमएस पठाएर जानकारी लिन सकिने छ ।

यस्तै यो सेवा असार ६ गतेदेखि मात्रै शुरु हुने भएकाले आफ्नो कुल प्राप्तांक हेर्न चाहनेहरुले यही विधिमा असार ६ गते देखि एसएमएस पठाउन सक्ने आयोगले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस्