काठमाडौँ । कोरोना महामारीबीच मंगलबार देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ । तोकिएको मितिभन्दा ७ महिना ढिलो भए पनि परीक्षा दिन पाउँदा विद्यार्थी खुसी र उत्साहित देखिएका छन् । वैशाखमा हुने परीक्षा कोरोना महामारी र लकडाउनका कारण अन्तिम समयमा आएर स्थगित गरिएको थियो । परीक्षा सम्पन्न भएर नतिजा प्रकाशन भएपछि उनीहरूको उच्चशिक्षा अध्ययनको ढोका खुल्नेछ ।

स्वास्थ्य सुरक्षा र सावधानीसाथ पहिलो दिनको परीक्षा देशभर उत्साहजनक रूपमा सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विद्यार्थीहरू मास्क लगाएर परीक्षा केन्द्रमा पुगेका थिए । अधिकांश परीक्षा केन्द्रहरूमा हेल्थ डेस्क राखिएको छ । जहाँ स्वास्थ्यकर्मीहरूको समेत व्यवस्था गरिएको थियो । काठमाडौंलगायत अन्य जिल्लाका कतिपय परीक्षा केन्द्रमा विद्यालयले नै परीक्षार्थीलाई फेस सिल्ड उपलब्ध गराएका थिए । साबुनपानीले हात धुने, ज्वरो नाप्ने, सेनिटाइजरको समेत व्यवस्था थियो ।

परीक्षा दिन केन्द्रमा उपस्थित विद्यार्थी हर्षित देखिएका विराटनगरस्थित बोर्डको प्रदेश १ कार्यालयका प्रमुख डम्बर बतासले बताए । ‘कोरोना महामारीबीच नयाँ तरिकाले परीक्षा गर्दै थियौं । कस्तो हुन्छ भन्ने अन्योल थियो । खासै अप्ठ्यारो भएन,’ उनले भने, ‘कक्षा १२ को परीक्षा सम्पन्न भएपछि नियमित कक्षा सञ्चालन गर्न सकिन्छ कि भन्ने सन्देश पनि जान्छ ।’ काठमाडौंकी परीक्षार्थी सदीक्षा खनालले ढिलै भए पनि परीक्षा दिन पाएकामा खुसी व्यक्त गरिन् । ‘कोरोनाको डर त छँदै थियो, परीक्षा कहिले हुन्छ भन्ने चिन्ता पनि थियो,’ उनले भनिन्, ‘परीक्षा दिएपछि त ढुक्क हुन्छ नि ।’

पहिलो दिन देशभरका ४ हजार १ सय ५ परीक्षा केन्द्रमा ४ लाख ३२ हजार ५ सय परीक्षार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् । अनलाइनबाट प्रश्नपत्र पठाउने भनिए पनि इन्टरेनटमा समस्या हुँदा केही परीक्षा केन्द्रहरूमा समयमै प्रश्नपत्र पुग्न सकेन, जसका कारण ढिलो गरी मात्रै परीक्षा सुरु भएको तर व्यवस्थित रूपमै सकिएको बोर्डले दाबी गरेको छ ।

 

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्