काठमाडौं । नेपाल शिक्षक महासंघले कोरोना भाइरस विरुद्धको सरकारी कोषमा एक दिनको तलव सहयोग गर्न शिक्षकहरुसँग गरेको अपिल नेपाल शिक्षक संघले अस्वीकार गरेपछि यो विषय अन्योलमा परेको छ ।

संघले आफ्नो सहमति बेगरको महासंघको अपिल नमान्न सदस्यहरुलाई निर्देशन दिएपछि राहतकोषमा शिक्षकहरुको सहयोगको विषय अन्योलमा परेको हो । राहत कोषमा सहयोग गर्न तयार शिक्षकहरुमा अहिले महासंघको अपिल मान्ने कि के गर्ने भन्ने दुविधा देखिन्छ । यसै दुविधा मेट्न नेपाल शिक्षक महासंघका संस्थापक अध्यक्ष केशव निरौलाले नयाँ सुझाब दिएका छन् ।

महासंघको केन्द्रिय राहतकोषमा जम्मा गर्न गरेको अपिल र त्यो नमान्न संघले सदस्य शिक्षकहरुलाई दिएको निर्देशनका बीच निरौलाले मध्यमार्गीबाटो सुझाएका हुन् ।

संकटको बेला सहयोग गर्नैपर्ने भन्दै नयाँ परिवेश र परिस्थिति अनुरुप शिक्षकहरुले आफू कार्यरत स्थानीय तहकै राहतकोषमा सहयोग गर्नुपर्ने निरौलाको सुझाब छ ।

महासंघको अपिल र संघको निर्देशनमा नअल्झि शिक्षकहरुले स्थानीय सरकारको राहत कोषमा सहयोग गर्दा अनुगमन पनि हुने र अनुभूति पनि हुने उनको भनाइ छ ।

एजुकेशन पाटीसँग कुरा गर्दै महासंघका संस्थापक अध्यक्ष निरौलाले विश्वासनियता, सहभागीता र सहकार्यको नयाँ थालनीका लागि पनि शिक्षकहरुले स्थानीय सरकारको राहत कोषमा सहयोग गरेर जाँदा उपर्युक्त हुने बताए ।

यसअघि भूकम्पका बेला शिक्षकहरुले केन्द्रिय राहत कोषमा सहयोग गरेको भएपनि संविधान र संघीयताको मर्मआत्मसात गर्दै यसपटक स्थानीय सरकारकै राहत कोषमा शिक्षकहरुले सहयोग गर्नुपर्ने उनको सुझाब छ ।

केन्द्र सरकारको राहत कोषमा गरेको सहयोग कहाँ खर्च हुन्छ प्रष्ट नभएपनि स्थानीय सरकारको कोष स्थानीय स्तरमै खर्च हुने र त्यसमा अपनत्व, अनुगमन र पारदर्शीता हुने निरौलाको ठम्याइ रहेको छ ।

२०७६ चैत्र २४ गते १९:१३मा प्रकाशित

प्रतिकृया दिनुहोस्