त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द गर्न प्रधानमन्त्रीको निर्देशन

उपकुलपतिको योग्यतासम्बन्धी मापदण्ड सच्याइने

Avatar photo

Byएजुकेशन पाटी

२० पुष २०८०, शुक्रबार

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।

शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले उक्त विज्ञापन सच्चाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न उनले निर्देशन दिएका हुन् ।

शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गरेको सूचना निकालेपछि त्यसको विरोध भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिष्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राख्न निर्देशन दिएका छन् । खुला प्रतिस्पर्धा भनिए पनि साँघुरो मापदण्ड राखेर सेटिङमा नियुक्ती गर्न खोजिएको आरोप लागेपछि प्रधानमन्त्रीले सच्याउन भनेका हुन् ।

प्रतिकृया दिनुहोस्