काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) केन्द्रिय समितिले शिक्षकहरुलाई प्रविधिमैत्री तालीम दिनसक्ने २५० एडभान्स प्रशिक्षक तयार पार्न भन्दै ५ दिने आइसिटि टिओटी प्रशिक्षण शुरु गरेको छ ।

संगठनले यसअघि सातै प्रदेशमा एकहजारको वेसिक प्रशिक्षकको रोष्टर तयार पारेको थियो । एकहजार मध्ये छनोट भएका २५० को एड्भान्स रोष्टर तयार पार्न लागिएको हो । अब ति सबैले जिल्ला जिल्लामा शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षण तालीम सञ्चालन गर्ने संगठनले जनाएको छ ।

बिहिवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले कोरोना भाइरस महामारीको  सङ्कटले विश्वमै शिक्षक समुदायको भुमिका बढाएको बता । यस संकटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको भन्दै उनले यसले  शिक्षकका लागि नयाँ शिक्षा प्रणालीको नेतृत्व लिने अवसर प्रदान गरेको स्पष्ट पारे ।

प्रचण्डले संगठनले आधुनिक विज्ञान प्रविधिको प्रयोग गरेर शिक्षकलाई परिचालन गर्न खोज्नु प्रशंसनीय काम भएको बताए । यसले विद्यार्थीहरुलाई पनि नयाँ शिक्षा प्रणालीतर्फ डोर््याउने भन्दै उनले शिक्षकहरुमा पनि सूचना प्रविधिको विकासले नयाँ शिक्षा प्रणाली विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

समाज विकासको समग्र प्रक्रियामा मान्छेले हरेक नकारात्मकता भित्र कहिँ न कहिँ त्यसभित्र अन्तर्नि्हित सकारात्मक परिणामको खोजीगर्ने भन्दै उनले विश्वव्यापी कोरोना संकटले नयाँ विश्व व्यवस्था, सामाजिक प्रणाली र नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताए ।

उनले हरेक नकारात्मकताभित्र मानिसहरुले सकारात्मकताको खोजी गरी विचार र शिक्षा प्रणालीको विकासका ठूलो योगदान दिनसक्ने भएकाले प्रशिक्षणमा सहभागी शिक्षकले त्यसअनुसारको सन्देश विद्यार्थी र अभिभावकसमक्ष लानुपर्नेमा पनि जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटि सदस्य शिक्षकहरु विद्यार्थीका मात्रै नभएर समग्र समाजकै गुरु भएका बताए । कोरोना संकटको विषम परिस्थितिमा पनि शिक्षकको संगठन शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने आफै बन्ने प्रक्रियामा लाग्नु अनुकरणीय कदम भएको भन्दै उनले ५ दिने प्रशिक्षणको शुभकामना व्यक्त गरे ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले औद्योगिक क्रान्तिपछि विज्ञान र प्रविधि उत्पादक शक्तिको रुपमा विकास भएको र शिक्षण क्षेत्रमा आर्टिफिसियल इन्टिलिजेन्स(कृत्रिम बौद्धिक) को प्रयोग शुरु भएको अवस्थामा शिक्षकहरु अब पेशामा टिकिराख्न प्रविधिमैत्री बन्नैपर्ने बाध्यता आएको बताए ।

उनले प्रविधिमार्फत् कृत्रिम मानव(रोवोट) हरु शिक्षण पेशामा भित्रिएको विश्वपरिवेशमा शिक्षकहरु अपडेटेड र क्षमता विकास हुनैपर्ने बाध्यता भएकाले यस्तो सूचना प्रविधियुक्त शिक्षण प्रशिक्षक तालीम सञ्चालन गरिएको जानकारी दिए ।

संगठनले गतवर्षपनि १२५ शिक्षकलाई ५ दिने प्रविधियुक्त शिक्षण तालीम दिएको थियो । लकडाउनको अवधिमा पनि संगठनले पहिलो चरणमा पोखरा महानगरपालिकामा, दोस्रो चरणमा सातै प्रदेशमा यसखाले कार्यक्रम सञ्चालन गरिसकेको छ । हालसम्म वेसिक प्रशिक्षकको एक हजार जनाको रोष्टर तयार भइसकेको र  यस ५ दिने प्रशिक्षणले थप २५० एडभान्स प्रशिक्षकको रोष्टर तयार पार्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्वमहानिर्देशक बाबुराम पौडेलले गुणस्तरीय शिक्षकले मात्रै गुणस्तरीय शिक्षा दिन सक्ने बताएका छन् । गुणस्तरीय शिक्षक हुनका लागि प्रविधिमैत्री हुनु अनिवार्य शर्त भएको उनको भनाइ थियो ।

सरकारले यसका लागि धेरै प्रयत्न गरेको भएपनि शिक्षकवर्गले आफै नेतृत्व लिएर, आफ्नै पहलमा प्रशिक्षकहरु तयार पार्ने र कक्षाकोठामा सूचना प्रविधिको प्रयोग गरी विद्यार्थीहरुलाई पनि प्रविधिमैत्री बनाउने जागरुकता सरकार भन्दा अगाडि बढेर लिनु सुखद र अनुकरणीय भएको उनले स्पष्ट पारे । उनले यस पहलकदमीका लागि संगठन प्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गरे । एकवर्ष अगाडि पहिलो पटक यसै सँगठनले प्रविधिमैत्री शिक्षक तयार पार्ने अभियान शुरु गरेको स्मरण गर्दै पौडेलले यस अनुकरणीय कार्यको सबैतिर विस्तार हुनुपर्ने आवश्यकता औँल्याए ।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले अहिलेको विषम परिस्थितिमा कक्षाकोठा सञ्चालन गर्न नसकिने भन्दै यसकालागि अनलाइन सिकाइको विकल्प नभएको बताए । अनलाइन शिक्षणका लागि शिक्षकहरु तयार पार्नु चुनौतीपूर्ण रहेको बेला युएण्टोले प्रशिक्षक नै तयार पार्न ५ दिने तालीम सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको उनको भनाइ थियो ।

विगत देखि नै प्रविधिमैत्री शिक्षक तयार पार्न यस संगठनले निभाउदै आएको भुमिकाको उच्च प्रशंसा गर्दै थापाले यस अभियानले अझ सार्थकता पाउने विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले युएण्टोले  वस्तुगत, व्यवस्थित र योजनाबद्ध ढङ्गले प्रविधिमैत्री शिक्षक निर्माण अभियान चलाएको  भन्दै यसको सफलताको कामना व्यक्त गरे ।

यस प्रशिक्षणलाई सकेसम्म मागमा आधारित, प्रभावकारी, नतिजामूखी, प्रमाणित र उत्सवको रुपमा सम्पन्न गरौं भन्दै शर्माले पछि शिक्षकहरुलाई अफलाइन भेटेर पनि प्रशिक्षण प्रभावकारिता बुझ्न सकिए राम्रो हुने उनको सुझाब थियो ।

२०७७ जेष्ठ १ गते १९:५९मा प्रकाशित

प्रतिकृया दिनुहोस्