काठमाडौं । विषयगत शिक्षक अभाव टार्न माध्यमिक तहमा शिक्षण स्वयसेवक व्यवस्थापन गर्ने प्रक्रिया सुदूरपश्चिम प्रदेशमा बिथोलिएको छ । कोरोना भाइरस(कोभिड–१९)को महामारीको कारण देखाउँदै सुदूरपश्चिम प्रदेश सामाजिक मन्त्रालयले प्रक्रिया अवरुद्ध भएको जनाएको हो ।

शिक्षण स्वयंसेवक व्यवस्थापनका लागि छनोट भएका विद्यालयहरुले चैत २८ गतेभित्र प्रदेशको सामाजिक विकास मन्त्रालयमा सम्झौताका लागि फाइल पेश गर्नुपर्ने भएपनि कोरोना भाइरसको त्रासका कारण सम्भव नदेखिए पछि स्थगित गरिएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि विद्यालयमा शिक्षण स्वयंसेवक व्यवस्थापनको प्रक्रिया अवरुद्ध भएको सामाजिक विकास मन्त्रालयले सूचित गरेको छ । साथै, सम्बन्धीत सबै प्रक्रियाका अभिलेखहरु विद्यालयमा नै सुरक्षित राख्न मन्त्रालयले अनुरोधसमेत गरेको छ ।

मन्त्रालयका शाखा अधिकृत जयदेव महराले एक सूचना जारी गर्दै शिक्षण सेवंसेवक व्यवस्थापन प्रक्रिया हाललाई स्थगित गरिएको जनाएका हुन् ।

संघीय सरकारले कार्यविधि नै बनाएर विषयगत शिक्षक अभाव टार्न शिक्षक  स्वयंसेवक व्यवस्थापन प्रक्रिया शुरु गरेको थियो । सोही अनुसार प्रदेश सरकारहरुलेपनि प्रक्रिया अगाडि बढाएका थिए ।

शिक्षण स्वयंसेवकबन्नका  लागि १२ हजारले आवेदन दिएका छन् । १ हजार ५ सय शिक्षण स्वयंसेवक छनोट गर्ने गरि आवेदन गरिएकोमा १२ हजार भन्दा बढिको आवेदन परेको हो ।

अंग्रेजी, गणित र विज्ञान विषयमा अपुग भएका शिक्षकको भूमिका स्वयंसेवकमार्फत पूर्ति गर्न शिक्षा मन्त्रालयले ‘चिनौँ आफ्नो माटो, आफैं बनाउँ आफ्नै देश’ अभियानमार्फत स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो ।

आउँदो नयाँ शैक्षिक सत्रभरी स्वयंसेवकका रुपमा १ हजार ५ सय जनालाई खटाउने योजनाअन्तर्गत यो अभियान शुरु गरिएको थियो । यस अभियानमा सहभागि हुन स्नातक वा स्नातकोत्तर उत्तीर्ण १८ पुरा गरी ४० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

शिक्षण स्वयंसेवकको सेवा सुविधालाई क, ख, र ग गरी तीन वर्गमा विभाजन गरिएको छ । शिषण  स्वयंमसेवकले मासिक २४ देखि ३२ हजारसम्म रकम पाउने जनाइएको छ ।

२०७७ बैशाख १ गते १०:१८मा प्रकाशित

प्रतिकृया दिनुहोस्