धादिङ । धादिङ सिद्धलेक–७ स्थित सत्यवती माविले विद्यार्थीहरुको सिकाइ निरन्तरताका लागि शिक्षकहरुको कोरोना वीमा गरिदिने भएको छ । विद्यालय व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्ने र त्यसमा सहभागी हुने शिक्षकहरुको विद्यालयको तर्फबाट कोरोना वीमा गरिदिने निर्णय गरेको हो ।

विव्यस अध्यक्ष कृष्णप्रसाद खतिवडाले शिक्षा मन्त्रालय तथा  गाउँपालिका र वडाकार्यालयले जारी गरेको निर्देशिकाका आधारमा सिकाइ सहजीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

विद्यालयले आफ्नो सेवाक्षेत्रभित्रका विद्यार्थीको विवरण संकलन गर्ने र वैकल्पिक माध्यममा भएको पहुँचका आधारमा वर्गिकरण गरी वैकल्पिक सिकाइ सहजीकरण कार्यक्रम अगाडि बढाइने खतिवडाले जानकारी दिए ।

उनका अनुसार वैकल्पिक सिकाइ सहजीकरणमा खटिएका बखत शिक्षकहरुको कोरोना पोजिटिभ देखिए एकलाखसम्म पाउने गरी विद्यालयले नै शिक्षकहरुको कोरोना बीमा गरिदिने निर्णय विव्यसले गरेको छ ।

यस्तै शिक्षक स्टाफ बैठकले विद्यालयको सेवाक्षेत्रलाई ६ भागमा विभाजन गरी शिक्षकहरुको ६ समूह निर्माण गरेको प्रधानाध्यापक लक्ष्मण शर्माले जानकारी दिए । यस्तै, बैठकले वैकल्पिक सिकाइ सहजीकरण कार्यक्रम कार्यान्वयन गर्न महत्वपूर्ण तीन निर्णयसमेत गरेको उनले बताए ।

उनका अनुसार पहिलो, विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने, दोस्रो कुन वैकल्पिक माध्यममा कति पहुँच छ भनेर फारम भराई तथ्यांक लिने र तेस्रो रेडियो र टेलिभिजनमा पहुँच हुनेलाई कार्यक्रमको बारेमा जानकारी दिने र नहुनेलाई सामाजिक दुरी सहित ६ क्षेत्रमा भेला गरी सिकाउने, गृहकार्य दिने, अभिभावकहरुसमेतलाई कोरोना शिक्षा सम्बन्धमा परामर्श गर्ने निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्