काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराईले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुलेको भोलिपल्ट परीक्षा भनेर बालबालिकालाई आतंकित पारेको आरोप लगाएका छन् ।

‘विद्यार्थी आफैलाई मनोरोगले ग्रस्त हुने अवस्था भइसकेको अवस्थामा के परीक्षा लिनु’ – उनले भने

शुक्रबार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एसईई परीक्षा लिनु आवश्यक नभएकोसमेत बताए ।

‘एसईईको परीक्षा लिनु आवश्यक छैन’, भट्टराईले भने, ‘१२ कक्षासम्म माद्यमिक तह भएपछि १० कक्षाको परीक्षा लिनु आवश्यक छैन ।’

विद्यार्थीहरुलाई अब परीक्षा हुँदैन आ–आफ्नो विद्यालयले उचित नम्बर दिन्छ, त्यसैले उच्च शिक्षाको तयारी गर भनेर भनिदिने हो भने कमसेकम विद्यार्थीहरु निस्फक्री भएर बस्ने उनको भनाइ थियो ।

६४ लाख बढी विद्यार्थीहरु अहिले लकडाउनमा बसिरहेका भन्दै यो उमेर अवस्थामा मनोपरामर्श नगरिए गम्भीर मनोरोग लाग्ने खतरा हुने डा. भट्टराईले स्पष्ट पारे ।

‘सम्पन्न परिवारका बालबालिका भर्चुअल कक्षाले भुलिरहेका भएपनि विपन्न र प्रविधिको पहुँच नभएका बालबालिका यति लामोसमय खाली बस्नुपर्दा ति बालबालिकाको अवस्था के होला ?’ डा. भट्टराई प्रश्न गरे । ‘त्यसको हामीले के व्यवस्था गर्दै छौं ?’

२०७७ बैशाख २६ गते २०:३९मा प्रकाशित

प्रतिकृया दिनुहोस्