काठमाडौं । यसपाली पनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्ने बारे शिक्षा मन्त्रालयल नै विश्वस्त बन्न सकेको छैन ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रको कार्यप्रगति हेर्दा यसपालीपनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नेमा शंका व्यक्त गरेका छन् । पाठ्यपुस्तक छपाइ  र वितरण प्रणालीलाई सुधार नगरी पाठ्यपुस्तक समयमै पु¥याउन नसक्ने ठोकुवा गर्दै सचिव श्रेष्ठले  जनकको जनशक्ति र पूर्वाधारमा सुधारको आवश्यकता औंल्याए ।

शिक्षा पत्रकार समुहले आयेजना गरेको सार्वजनिक विद्यालयमा पाठ्यपुस्तक अभाव कारण के ? विकल्प के ? विषय अन्तक्रियामा बोल्दै सचिव श्रेष्ठले जनकलाई यहि हालतमा चल्न छुट दिएर पाठ्यपुस्तक समयमा कहिल्यै नपुग्ने दाबी गर्दै त्यसको लागि निजी छापाखानाको पनि सहयोग लिन जरुरी भएको बताए ।  ‘छाप्न र समयमा पु¥याउन निजी छापाखानालाई जिम्मा दिएर पनि पाठ्यपुस्तक समयमै पु¥याउनुपर्छ ।’ उनले भने ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पाठ्यपुस्तक समयमा पु¥याउन नसकेका बारे भने– ‘परार भूकम्प आयो, पोहोर नाकाबन्दी लायो, अहिले चुनाव छायो ।’ जनकले चाहिए भन्दा कम र निजीले चाहिएभन्दा बढी किताब छाप्दा समस्या आएको भन्दै पौडेलले समयमा पुस्तक नपाइएकाले बिक्री नहुने गरेका बताए । ‘निजीले बिक्री भएन भनेर कम छाप्न पाउँदैन ।’ उनले भने – ‘बैशाख पहिलो साता विद्यार्थीको हातमा कुनै हालतमा पुस्तक पुगेकै हुनुपर्छ ।’

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण काप्रीले केन्द्रले पाठ्यपुस्तकको छपाई सामाग्री (पिआसी) तयार पार्ने र छपाई निकायलाई दिने, छपाईको मापदण्ड तयार पार्ने र निजी मुद्रणसंस्थको सुचीकृत गर्ने जिम्मेवारी पाएको र त्यो समयमै पुरा गरेकाले जनक शिक्षाकै ढिलाईका कारण पाठ्यपुस्तकमा वर्षेनी समस्या आउने गरेको बताए । उनले समयमै पाठ्यपुस्तक पु¥याउनका लागि जनकको आर्थिक, छपाइ, मूल्य र वितरण प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । पाठ्यपुस्तकको काम जहिल्यै हतारमा गर्नुपर्दा यसको गुणस्तरमा ध्यान दिन नसकिएको समेत उनले स्वीकारे ।

जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक कपिलदेव लामिछानेले विविध अवरोध भन्दापनि प्रकृया लामो हुँदा पाठ्यपुस्तक छपाई र वितरणमा ढिलाई हुने गरेको बताए । ‘कार्तिकमा बल्ल कागज आउँछ अनि कसरी समयमा छाप्न सकिन्छ ।’ उनले भने । पाठ्यपुस्तक छपाईमा रहेका विभिन्न झन्झटिला प्रकृया सहज नबनाएसम्म पाठ्यपुस्तक छपाईमा चुस्तता नआउने उनले दावी गरे । साझा प्रकाशनका भेषराज घिमिरले ३ ४ वर्षपछि बल्ल पाठ्यपुस्तक छपाईमा साझा जोडिएको स्पष्ट पार्दै हाल साझालाई छपाईको मात्रै जिम्मेवारी दिइएकोले वितरणबारे आफू अनविज्ञ रहेको बताए ।

निजी छापाखाना संघका अध्यक्ष दीपक भण्डारीले पाठ्यपुस्तक समयमा नपुग्नुको जड उत्पादनमा जनक शिक्षाको उत्पादनमा ढिलाई  रहेको भन्दै ०६४ सालदेखि निजी क्षेत्रले छपाईको जिम्मा पाएपछि हालसम्म पुस्तक नपुगेको भन्ने खबर कतै नआएको दावी गरे । जनकले पुस्तक समयमा छाप्न र वितरण गर्न नसकेपछि जनकलाई नै वर्षेनी किन पाठ्यपुस्तकको जिम्मा दिइन्छ प्रश्न गर्दै भण्डारीले निजीलाई सवै जिम्म दिए आफुहरुले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याइदिने दावी गरे ।

अभिभावक संघ नेपालकी उपाध्यक्ष सरिता अर्यालले जनक शिक्षाले यति छापे, यति छप्दैछु भनेर पत्रकारहरुका अगाडी झुट बोलेको बताइन् । जिल्ला सदरमुकाम पुगेका पुस्तकलाई विद्यार्थीसम्म पुग्यो भन्न नमिल्ने भन्दै अर्यालले आगामी वर्षपनि विद्यार्थीले समयमै पुस्तक नपाउने निश्चित देखिएको दावी गरिन् ।

आउँदो बर्ष विद्यालय तहका लागि ३ करोड ७२ लाख ५१ हजार ९ सय ५५ थान पाठ्यपुस्तक आवश्यक छ । किताब छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले बिहीबार सम्म १ करोड १० लाख पाठ्यपुस्तक मात्रै छापेको जनाएको छ । हाल दैनिक १ लाख १० हजार थानको दरले पाठ्यपुुस्तक छापिरहेको जनक शिक्षाले जनएको छ ।  तर, नयाँ शैक्षिक सत्र शुरु हुन ४२ दिन बाँकी छ । शैक्षिक सत्र शुरु हुने दिन सम्मै यही रफ्तारमा छाप्ने हो भने पनि अब जम्मा ४६ लाख २० हजार थान पुस्तक छापिन्छ । अर्थात् २ करोड १६ लाख ३१ हजार ९ सय थान पुस्तक अझै बाँकी रहने देखिन्छ ।

२०७३ फागुन १९

प्रतिकृया दिनुहोस्