भक्तपुर । टेबलमा विभिन्न हातले बनाइएका कागजका कामलाग्ने वस्तुहरु मिलाएर बसेकी थिइन्, आर्या गौतम । कागजले बनेका विभिन्न रंगीचंगी सामानहरुलाई टेबलमा लस्करै राखेर उनी ती सामानहरु देखाउँदै थिइन् । उनी ती सामानहरुको बखान गर्दै टेबल नजिकै आएका (ग्राहक) हरुलाई सामान किन्नका लागि अनुरोध गर्दै थिइन् ।

सोही अनुरोध अनुसार ग्राहक पनि उनको पसलमा झुम्मिएका थिए ।

कागतका विभिन्न हस्तकलाका सामानहरु देखाउँदै, बेच्दै, ग्राहक बटुलेर भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकूलको कक्षा १० मा पढिरहेकी गौतमले शनिबार पाँच हजार बढी कमाइन् ।

उनले कमाएकीमात्र छैनन्, विद्यालयले आयोजना गरेको ‘आरजी मार्केट’ नामको बजारमा पसल थापेर उनले पसलमा आउने ग्राहकसँग कसरी व्यवहार गर्ने ? सामानहरु कसरी बिकाउने, ग्राहककोमन कसरी जित्ने? भन्ने कुराको पनि अभ्यास गरिन् ।
सो पसलमा बसेर उनले बोल्ने सीपको विकास भएको अनुभव लिए ।

अघिपछि घर नजिकैको पसलमा गएर आफूलाई चाहिने चिज, वस्तु किन्ने उनले शनिबार आफै ‘साहुनी’ को अनुभव लिइन् ।


उनले मात्र हैन, कक्षा ८ पढिरहेकी मेधा खड्काले पनि आरजी मार्केटमा पसल थापेकी थिइन् । उनले शनिबार विद्यालयको प्राङ्गणमा आयोजना गरेको मेलामा बोट विरुवाका विभिन्न विरुवाहरुको स्टल राखेकी थिइन् । गमलालाई विभिन्न रंगहरुले पोतेर चिटिक्क बनाएर बेच्न उनी बसेकी थिइन् । उनले पनि ती सामानहरु बेचेर राम्रै कमाइ गरिन् ।

त्यसरी कमाउने क्रममा उनले बोली व्यवहार सिकिन्, आउने ग्राहकहरुको मन जित्ने तरिका र सीप सिकिन् । र, उनले पनि अनुभव गरिन्, कितावमा पढेका ज्ञानलाई व्यवहारमा उतार्दाको समस्या, चुनौति र अवसर ।

विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन, व्यावसायिक सीप दिन तथा उद्यमशील बन्न उत्प्रेरणा दिने उद्देश्यले गरेको सो कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमात्र नभई अभिभावकहरु पनि लाभान्वित भए । अभिभावकहरुले आफ्ना सन्तानको सीप, खुबी र क्षमतालाई पनि नजिकबाट बुझ्न पाएको बताए ।

सोही विद्यालयमा आफ्ना सन्तान पढाइ रहेका एक अभिभावकले विद्यालयको यो अवधारणा निक्कै व्यावहारिक र उपयोगी रहेको सुनाए । अभिभावक प्रविण गुरागाईंले भने, ‘विद्यार्थीलाई व्यवसायबारे प्रयोगात्मक सिकाइ सिकाउन र बजार व्यवस्थापनको सीपबारे प्रयोगात्मक रुपमा सिकाउनका लागि विद्यालयले साह्रै राम्रो काम गरेको हो, यो राम्रो अभ्यास हो ।’

नभन्दै विद्यार्थीहरुले सो अभ्यासबाट धेरै कुरा सिकेको बताएका छन् । विद्यार्थी ईप्सा खनाल, ओजस्वी चन्द, कृश्तिन भण्डारी, गृष्मा कार्कीले व्यापारबारे जानकारी दिन, लिन र किताबको ज्ञान मात्र नभएर विद्यार्थीलाई उद्यमशील बनाउनका लागि समेत उपयोगी भएको बताएका छन् ।

सोही स्कुलको कक्षा कक्षा ९ पढिरहेका अग्रज भट्टराईले विद्यालययको सो कार्यक्रमले अवसर प्रदान गरेको सुनाए । भने कक्षा ९ मै पढिरहेकी रिभा कायस्थले व्यापार, व्यवसायलाई नजिकैबाट बुझ्ने र व्यापारका हिसाब किताब दुरुस्त राख्ने तरिका समेत जानेको अनुवभका साथै व्यवसायमा कसरी सफल हुने र नाफा कमाउनेबारे ज्ञान पनि पाएको बताइन् ।

विद्यालयले आयोजना गरेको सो बजारमा विद्यार्थीहरुले विभिन्न सामानहरुको प्रदर्शनी गरेका थिए । कोही विद्यार्थीले विभिन्न खाले कलाहरुको प्रदर्शनी, ससाना ढुंगाहरुलाई पनि आर्कषक बनाउने, कोहीले भक्तपुर नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमसँग सम्बन्धित विषयसँग सम्बन्धित वस्तुहरुदेखि विभिन्न खाले खाना तथा खाजाको समेत स्टल राखेका थिए ।

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि तथा विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाउने राम्रो प्लेटफर्म तयार गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल लिओन श्रेष्ठले बताए ।

आरजी मार्केटमा दैनिक उपयोगी हुने संसाधनदेखि विद्यार्थीका लागि उपयोगी वस्तु र सामानहरुलगायतका ३० बढी स्टल रहेका थिए । ती स्टलहरुमा बसेर विद्यार्थीले व्यावहारिक र प्रायोगिक ज्ञान हासिल गर्न सघाउ पुर्याउन सो कार्यक्रम गरिएको प्रिन्सिपल श्रेष्ठको भनाइ छ । ‘हामी विद्यार्थीलाई माछा मारेर दिने भन्दा पनि माछा मार्न सिकाउने सीप दिन्छौं, त्यही सीपलाई प्रभावकारी रुपमा दिनका लागि विद्यालयले एकदिने मार्केटको कार्यक्रम गरेको हो ।

सो कार्यक्रममा उल्लेख्य रुपमा अभिभावकको सहभागिता रहेको थियो । अभिभावकहरुको उल्लेख्य सहभागिताले विद्यार्थीहरु समेत उत्साहित भएका थिए । सो मार्केटमा भएको सामानको बिक्रीबाट संकलन भएको रकम विद्यालयले च्यारिटी कोषका लागि जम्मा गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्