काठमाडौं। गतवर्षको एसईई नतिजामा संस्थागत विद्यालयतर्फ बागमती टप गरेको रिलायन्स इन्टरनेशनल एकेडेमी प्रदेश सरकारबाट पुरस्कृत भएको छ । शिक्षा दिवसको अवसरमा आयोजित विशेष समारोहमा आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विद्यालयलाई प्रमाणपत्र र एक लाख नगदसहित पुरस्कृत गरेका हुन् ।

गतवर्ष एसईई दिएका १ सय १६ विद्यार्थीले ३.७६ औषत जीपीए प्राप्त गरेपछि समग्र नतिजामा रिलायन्स बागमती प्रदेशभरकै उत्कृष्ट संस्थागत विद्यालय बन्न सफल भएको थियो । बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित रिलायन्स एकेडेमी २०७६ मा पनि संस्थागततर्फ राष्ट्रकै उत्कृष्ट विद्यालय बन्न सफल भएको थियो । त्यतिबेला नेपालभरिका संस्थागत विद्यालयलाई पछि पारेको रिलायन्सलाई ४० औँ राष्ट्रिय शिक्षा दिवसका अवसरमा सरकारले शिल्ड, ध्वजा, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेको थियो । यस्तै २०७० सालको एसएलसी परीक्षामा पनि राष्ट्रकै सर्वोत्कृष्ट नतिजा हासिल गरी विभिन्न संघसंस्थाबाट सम्मानित भएको थियो ।

विगत ३० वर्षदेखि शिक्षा क्षेत्रमा समर्पित दक्ष र अनुभवी अध्यापकहरूको कुशल समूहबाट सञ्चालित रिलायन्स इन्टरनेसनल एकेडेमीले हासिल गरेको निरन्तर सफलता, विद्यार्थी एवं अभिभावकबाट पाएको माया, सद्भाव र सहयोगबाट प्रोत्साहित भई यसले आफ्नो सेवालाई अझ बृहत् रुपमा विस्तार गर्दै रिलायन्स एजुकेसन नेटवर्कको रुपमा रिलायन्स उच्च मा.वि., रिलायन्स कलेज, रिलायन्स पब्लिक स्कुल र रिलायन्स को–एड स्कुलमार्फत् करिब ५००० विद्यार्थीलाई शिक्षाको ज्योति प्रदान गर्दै आइरहेको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा बागमती सरकारले एसईई नतिजाका आधारमा संस्थागत विद्यालयतर्फ दोस्रो बन्न सफल बालुवाटारस्थित विज् किड्स इन्टरनेशनल स्कुल र तेस्रो बनेको गोंगबुस्थित फ्लुरेसेन्ट सेकेण्डरी स्कुललाई पनि नगदसहित पुरस्कृत गरेको छ । त्यस्तै, सामुदायिक विद्यालयतर्फ भने भक्तपुर तेखापुखुस्थित मेघा माध्यमिक विद्यालय प्रदेशकै उत्कृष्ट बन्दै पुरस्कृत भएको छ । त्यस्तै, पृथ्वी माध्यमिक विद्यालय, नुवाकोट द्वितीय, श्रम राष्ट्रिय माध्यमिक विद्यालय काठमाडौँ तृतीय, पृथ्वीनारायण माध्यमिक विद्यालय काठमाडौँ चौथो र बलम्बु मावि काठमाडौँ पाँचौँ बन्दै पुरस्कृत भएका छन्।

प्रतिकृया दिनुहोस्