काठमाडौँ। रिलायन्स साहित्य समाजले माध्यमिक विद्यालय स्तरिय राष्ट्रव्यापी वक्तृत्वकला आयोजना आयोजना गर्ने भएको छ । प्रतियोगितामा देशभरका कक्षा ९–१२ का विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।

राजधानीको प्रसिद्ध शैक्षिक समूह रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतको समाजले महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृतिमा वर्षेनी आयोजना गर्दै आएको ‘देवकोटा स्मृति राष्ट्रव्यापी अन्तर माविस्तरीय वक्तृत्वकला’ प्रतियोगिताको चौधौं संस्करण आयोजना गर्न लागेको हो । प्रतियोगिता आगामी मंसिर २९ र ३० गते आयोजना हुने समाजले जनाएको छ ।

यसअघिका १३ औँ संस्करणसम्म उपत्यकाव्यापी प्रतियोगिता गरेको समाजले यसपटक भने राष्ट्रव्यापी प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा सहभागीहरूले ‘महाकवि देवकोटाको ‘प्रश्नोत्तर’ कविताबाट आजका मानिसले लिनुपर्ने प्रेरणा’ शीर्षकमा आफ्नो वक्तृत्वकला प्रदर्शन गर्नुपर्ने छ ।

प्रतियोगितामा देशभरका कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने भएपनि एउटा विद्यालयबाट एकजना मात्रै विद्यार्थी(छात्रा वा छात्र)सहभागी हुन पाउने समाजले स्पष्ट पारेको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरूले आगामी मंसिर २७ गतेसम्ममा नाम दर्ता गराइसक्नुपर्ने समाजले जनाएको छ । नाम दर्ताका लागि प्रति विद्यार्थी रु. ५००।– शुल्क लाग्नेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले फोनमार्फत् पनि नाम दर्ता गर्न सक्ने जनाइएको छ ।

प्रतियोगी विद्यार्थी निर्धारित मितिमा आफ्नो परिचय पत्र र विद्यालय पोसाकमा एकजना विषय शिक्षक वा विद्यालय प्रतिनिधिका साथ बिहान १०ः३० बजे प्रतियोगिता स्थलमा उपस्थित हुनुपर्ने पनि समाजले स्पष्ट पारेको छ ।

समाजकाअनुसार प्रतियोगिता दुई चरणमा सम्पन्न हुने छ । जसमा पहिलो दिन मंसिर २९ गते पहिलो चरणअन्तर्गत सहभागीहरुमध्येबाट उत्कृष्ट ५ वक्ता छनोट गरिने छ । त्यस्तै, दोस्रो दिन उत्कृष्ट पाँच वक्ताहरूको प्रतिस्पर्धा गराई विजेताको अन्तिम टुंगो लगाइने छ ।

प्रतियोगितामा आयोजक विद्यालयका तर्फबाट सहभागिता नरहने साथै, तीन सदस्यीय स्वतन्त्र भाषाविद् एवं अध्यापकसहितको निर्णायक मण्डलबाट मूल्यांकन हुने आयोजक रिलायन्स साहित्य समाजले स्पष्ट पारेको छ । समाजका अनुसार प्रतियोगितामा वक्ताले कुनै पनि लेख, टिपोट, पाठ्य सामग्री आदि हेरेर बोल्न पाउने छैनन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थी तथा सम्बन्धित विद्यालयलाई एक भव्य समारोहका बिच विशिष्ट अतिथिहरू बाट नगदसहित आकर्षक शिल्ड/ट्रफी, मेडल, प्रमाणपत्र र अन्य पुरस्कारद्वारा पुरस्कृत गरिने जनाइएको छ । थप दुई वक्ताहरूलाई प्रोत्साहन स्वरुप सान्त्वना पुरस्कार तथा प्रमाणपत्र साथै, अन्य सबै सहभागी वक्ता र विद्यालयहरूलाई सहभागिताको प्रमाणपत्र दिइने समाजले स्पष्ट पारेको छ ।

रिलायन्स साहित्य समाजले निम्न सम्पर्क नम्बरहरुमा (९८५१०८७६३५, ९८५१०१५०२४, ०१—४८१०५२९,४८११५५२)सम्पर्क गरी विस्तृत जानकारी लिन तथा सहभागिताका लागि नाम दर्ता गर्न सकिने जनाएको छ ।

 

कविता : प्रश्नोत्तर
— महाकवि लक्ष्मीप्रसाद देवकोटा

‘के हो अहो ! अमृत त्यो सुरदेव पान ?’
‘सच्चा कमाइ गरिखानु भनेर जान ।’
‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ?
‘आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।’

‘पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?’
‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।’
‘देखिन्छ ईश कुन मन्दिरमा पसेर ?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।’

‘यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?’
‘फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।’

‘कर्तव्य के छ जनको, यति छन् विरोध ?’
‘नक्षत्र हेर नभमा, दिलसाथ सोध !’
‘के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु ?’ ‘उडि छुनु चन्द्र एक ।’

 

प्रतिकृया दिनुहोस्