मकवानपुर। मनहरी गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले सामूहिक राजीनामा दिएका छन्। गाउँपालिकाले विना कारण प्रधानाध्यापकहरूको सरुवा गर्न खोजेको र मिडियाबाजी गरिएको भन्दै सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरूमा गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापक छन्। प्रधानाध्यापकले दिएको सामूहिक राजीनामा साउन १ गतेबाट लागू हुने गरी दिइएको पत्रमा उल्लेख गरिएको छ। योग्य, सक्षम र क्षमतावान शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न मार्गप्रशस्त गर्नका लागि राजीनामा दिइएको उनीहरूको भनाइ छ। ‘हामी कार्यरत प्रअहरूको कस्तो दोष र कसुरमा दण्डित हुनुपर्ने हो ? सहमतिविपरीतको सरुवा सजाय हो भन्ने महसुस गरी यो अन्योलको परिस्थितिले हामी सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूलाई काम गर्ने मनोबलसमेत कमजोर भइरहेको परिस्थिति छ,’ राजीनामापत्रमा उल्लेख छ।

प्रधानाध्यापकहरूले लिखित रूपमा हस्ताक्षरसहित राजीनामा दिएका छन्। उनीहरूले पालिकाले विद्यालयको गुणस्तर सुधारका लागि गर्नुपर्ने अन्य कामभन्दा प्रधानाध्यापकहरूको सरुवा गर्नतिर लागेको आरोप लगाएका छन्।विभिन्न कार्यक्रमहरूमा अध्यक्ष रन्जन कालाखेतीले प्रधानाध्यापकहरूको कारण विद्यालय बिग्रिएको र अब गाउँपालिकाले जसरी भए पनि प्रधानाध्यापक सरुवा गर्ने अभिब्यक्ति दिइरहेको भन्दै प्रधानाध्यापकहरूले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन्। जसमा प्राथमिक विद्यालय १८ वटा, मावि ९ वटा छन् भने निमावि ५ वटा रहेका छन्।

प्रतिकृया दिनुहोस्