काठमाडौं । गण्डकी प्रदेशसका सामाजिक विकास मन्त्री नरदेवि पुन मगरले प्रदेशबाहिरका शिक्षकहरु लकडाउनले रोकिँदा विद्यालयहरुको नतिजा तयारीमा समस्या भएको बताएकी छन् । शिक्षकहरु नल्याउँदा नतिजा प्रकाशन रोकिएको र  ल्याउँदा कोरोना भाइरसको संक्रमण भित्रिने डरभएको उनले बताइन् ।

शिक्षा पत्रकार समूहले मंगलवार आयोजना गरेको भर्चुअल प्रेस मिटमा बोल्दै मन्त्री पुनमगरले शिक्षकहरु प्रदेश बाहिरको हुँदा सबै विद्यालयहरुले नतिजा प्रकाशन गर्न नसकिरहेको बताइन् ।

नतिजा प्रकाशन गरेपछि नै भर्नाका बारेमा योजना ल्याउने बताउँदै उनले प्रदेश बाहिरका शिक्षकहरु भित्राउन समस्या भइरहेको बताइन् ।
नतिजा पश्चात् साधनको पहुँचका आधारमा भर्ना र कक्षा सञ्चालनको तयारी भइरहेकोसमेत उनले बताइन् ।

‘अहिलेसम्म हामी छलफल मै छौं । सबैपक्षको सुझाबको आधारमा छिट्टै निर्णय लिन्छौं’–मन्त्री पुनमगरले भनिन् । ‘हामी चुप लागेर बसेका छैनौं, तयारीकै चरणमा छौं ।’

केही स्थानहरुलाई सिल गरेर स्वास्थ्य सुरक्षासहित विद्यालय सुचारु गर्ने र बाँकीमा पहुँचका आधारमा इन्टरनेट, रेडियो र टेलिभिजनबाट शिक्षकसिकाइलाई नियमित गर्ने बारे छलफल चलिरहेको उनले स्पष्ट पारिन् ।

प्रविधिमैत्री शिक्षणका लागि शिक्षक तयारी महत्वपूर्ण हुने भएपनि अहिलेसम्म प्रविधियुक्त शिक्षण तालीम शुरु नगरीको स्वीकार गर्दै आगामी वजेटमा ठूलो रकम शिक्षक तालीममा विनियोजन गर्ने तयारी भइरहेको उनले बताइन् ।

शिक्षक तालीमको अधिकार प्रदेशलाई नै भएकाले शिक्षक तालीमलाई प्रविधिमैत्री बनाउँदै सञ्चालन गर्ने प्रदेशको तयारी रहेको भन्दै उनले तालीमलाई उपलब्धीपूर्ण बनाउने तयारी भइरहेको जानकारी दिइन् ।

संविधानले विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको र शिक्षकको व्यवस्थापन संघीय सरकारले गरिरहेको सन्दर्भमा प्रदेशले दुवै सरकारसँग समन्वयकारी भुमिका मात्रै निर्वाह गर्दै आइरहेको बताइन् ।

प्रदेश बाहिरका शिक्षक तत्काल कसरी भित्राउने र क्वारेन्टाइनमा परिणत भएका विद्यालयहरु कसरी पुरानै अवस्थामा फर्काउने भन्ने बारेमा प्रदेशले छिट्टै निर्णय गर्ने भन्दै तत्काल विद्यालय सुचारु हुने सम्भावना नरहेको उनले बताइन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको बेला मुख्य काम भनेको पहिले बाच्ने र बचाउने हो त्यसपछि मात्रै पढाइको कुरा आउने भन्दै उनले आगामी प्रदेश बजेटमा शिक्षा बजेट बढ्ने प्रतिबद्धता जनाइन् ।

इन्टरनेटको पहुँच हुनेमा इन्टरनेट, टेलिभिजनको पहुँचमा टेलिभिजन र रेडियोको पहुँचमात्र रहेको स्थानमा रेडियोबाट दूरशिक्षा सञ्चालन गरिने उनले बताइन् । कुनैपनि माध्यमको पहुँच नहुने स्थानमा सिल गरेर विद्यालय नै खोल्ने तयारी भइरहेको उनले बताइन् ।

हाललाई भिडभाड नगरी पाठ्यपुस्तक ढुवानी गरी विद्याथीृको हातहातमा पुर्याउनेबारे छलफल भइरहेको उनले स्पष्ट पारिन् ।

२०७७ बैशाख २३ गते १५:५८मा प्रकाशित

प्रतिकृया दिनुहोस्