काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस रोग (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणमा सघाउन विज्ञहरुको समिति बनाएर अध्ययन–अनुसन्धान थालेको छ । पूर्व विज्ञान मन्त्री गणेश साह संयोजकत्वमा गठित २८ सदस्यीय समितिमा विषयविज्ञहरू सम्मिलित ६ वटा उपसमितिसमेत गठन गरिएको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

स्वकीय सचिव केसीका अनुसार नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माको संयोजकत्वमा शिक्षण विधि तथा विकल्प उपसमिति गठन गरिएको छ । यस उपसमितिलाई शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षणलगायत योजना बनाउने जिम्मा दिइएको केसीले जानकारी दिए ।

यस्तै, नास्टका प्राज्ञ दिनेशराज भुजूको संयोजकत्वमा कोरोनासम्बन्धी वैज्ञानिक चेतना तथा सञ्चार उपसमिति गठन गरिएको छ । यो उपसमितिलाई जनमानसमा दिइने कोभिड–१९ सम्बन्धी सूचना तथा पूर्वतयारीसम्बन्धमा प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ ।

यसैगरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी नेतृत्वको ‘डाइग्नोस्टिक एन्ड रेस्पोन्स’उपसमितिललाई कोरोना परीक्षण, र्यापिड टेस्ट, डाइग्नोस्टिक सेवा, प्रयोगशालाको सुविधा, परीक्षणको गुणस्तरलगायत विषयमा अध्ययन प्रतिवेदन तयार पार्न जिम्मेवारी दिइएको केसीले जानकारी दिए ।

नास्टका उपकुलपति सुनीलबाबु श्रेष्ठको नेतृत्वमा अनुसन्धान उपसमिति बनाइएको छ । यसले कोरोनासम्बन्धी वैज्ञानिक अनुसन्धान, तथ्यांक, प्रोटोकललगायत विषयमा अनुसन्धान गर्ने र प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ ।

युनेस्को नेपालका विज्ञान समिति संयोजक रामेशकुमार मास्केको नेतृत्वमा गठित् प्रविधि विकास तथा नवप्रवर्तन उपसमितिले क्वारेन्टाइन सेवा, पीपीई डिजाइन र उत्पादन, सेनिटाइजर र साबुनको उत्पादन, मास्क, औषधि, एप्स निर्माण, रोबटिक्सजस्ता विषयमा अनुसन्धान प्रतिवेदन तयार पार्ने जनाइएको छ ।

मन्त्रालयका विज्ञान सचिव सञ्जय शर्माको संयोजकत्वमा नीति तथा वित्त उपसिमिति बनाइएको छ । यसले बजेट, नीतिगत सुधार, संस्थाहरूबीचको समन्वय, अनुसन्धानमा वैदेशिक संलग्नता र प्राथमिकता निर्धारणसम्बन्धी काम गर्ने शिक्षामन्त्रीका स्वकीय सचिव केसीले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको सक्रियतामा गठित समितिले एक सातादेखि ‘स्काइप’मा नियमित भिडियो संवाद गरिरहेको पनि मन्त्रीका स्वकीय सचिव केसीले एजुकेशन पाटीलाई बताए । उपसमितिहरूले मन्त्रालयलाई तत्काल र भविष्यमा गर्नुपर्ने कामबारे सुझाव दिने उनले जानकारी दिए ।

२०७६ चैत्र २७ गते २३:४४मा प्रकाशित

प्रतिकृया दिनुहोस्