काठमाडौं  । विद्यालयले नै आन्तरिक मूल्यांकन गरेर विद्यार्थीलाई एसईई उत्तीर्ण गराउन  सुझाब दिइएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले सरकारलाई यस्तो सुझाब दिएको हो ।

यसकालागि कानूनी बाधा अड्चन भए हटाई आन्तरिक मूल्यांकनका आधारमा प्रमाणीकरण गर्न आवश्यक निर्णय गर्नसमेत प्याब्सनले सरकारसँग आग्रह गरेको छ ।

कोरोना (कोभिड १९)संक्रमण त्रासका कारण सम्पन्न हुन नसकेका विद्यालय तहको परीक्षा सञ्चालनको सट्टा सम्बन्धित विद्यालयले नै आन्तरिक मूल्यांकन गरेर विद्यार्थीलाई उत्तीर्ण गराउन  प्याब्सनले माग गरेको हो ।

कोरोनाको संक्रमण त्रास कायमै रहेको र कहिले साम्य हुन्छ भन्ने यकिनसमेत नभएको अवस्थामा परीक्षा सञ्चालन गर्ने मिति कुरेर बस्नु उपयुक्त नहुने प्याब्सनको भनाइ छ । कोरोना त्रासले एसईई तथा कक्षा ११ र १२ को परीक्षा सम्पन्न हुन सकेको छैन ।

सोमबार प्याब्सनका अध्यक्ष टिकाराम पुरीले एक प्रेस विज्ञप्ति जारी गर्दै एसईईको लागि विद्यालयले आन्तरिक मूल्यांकन गर्ने र सोही मूल्यांकनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरेर ग्रेड सिट तथा प्रमाणपत्र उपलब्ध गराउनुपर्ने माग गरेका हुन् ।

केहि स्थानीय तहमा कक्षा ८ को परीक्षा पनि सम्पन्न हुन सकेको छैन । विश्वका प्रतिष्ठित शैक्षिक संस्थाहरुले समेत आन्तरिक मूल्यांकन गरेर विद्यार्थीलाई प्रमणपत्र उपलब्ध गराउने निर्णय गरेकोले नेपालमा पनि सोही अबलम्बन गर्दा उपयुक्त हुने प्याब्सनको दावी छ ।

२०७७ बैशाख २३ गते १३:३०मा प्रकाशित

प्रतिकृया दिनुहोस्