काठमाडौं । कर्णाली प्रदेश सरकारले आफूहरु जेठ अन्तिमसम्ममा एसईई परीक्षा सञ्चालन गर्न सक्षम रहेको जनाएको छ ।

प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले अवस्था यो भन्दा नबिग्रिरिए जेठ अन्तिममा एसईई परीक्षा सञ्चालन गर्न आफुहरु सक्षम रहेको बताएका हुन् । साथै, उनले विद्यालयहरुमा पनि भर्चुअल कक्षा र प्रिन्ट मिडियाको प्रयोग गरी पढाइ सुचारु गर्ने योजना सुनाए ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल प्रेस मिटमा बोल्दै मन्त्री रावलले संक्रमणकालीन अवस्थामा परीक्षा सञ्चालन र विद्यालय सुचारुका लागि प्रदेश सरकारले योजनाबद्धरुपमा काम अगाडि बढाउन खोजेको बताए ।

जेठ अन्तिम साता एसईई परीक्षा
यदि संघीय सरकारले अनुमति दिए प्रदेश सरकारले जेठ अन्तिम साता एसईई परीक्षा सञ्चालन गर्न आफुहरु सक्षम रहेको मन्त्री रावलले बताए । यो भन्दा अवस्था बिग्रीएन भने परीक्षा केन्द्रहरु थपेर, स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गर्दै जेठ अन्तिम साता एसईई परीक्षा सञ्चालन गर्न आफुहरु तयार रहेको रावलले बताए । अब सातै प्रदेशमा एकै चोटी परीक्षा सञ्चालन गर्न सम्भव नहुने भन्दै उनले प्रदेशहरुमा परीक्षा गर्दै जानुपर्नेसमेत सुझाब दिए । ‘हाम्रो प्रदेश जेठ अन्तिम सातासम्म एसईई परीक्षा सञ्चालन गर्न पूर्ण रुपमा तयार छ’– मन्त्री रावलले भने, ‘विद्यार्थीहरु सोही विद्यालयमा राख्ने तर शिक्षकहरु अन्तैबाट ल्याउने योजना छ ।’

विद्यार्थीहरुको संख्या ठूलो हुने र टाढा टाढाको केन्द्रमा जान समस्या हुने भएकाले परीक्षा केन्द्र थप्दै अन्य विद्यालयका शिक्षकहरुलाई ल्याउने उनले योजना सुनाए । सामाजिक विकास मन्त्री रावलले क्लस्टर–क्लस्टर छुट्याएर परीक्षा लिन सकिने र त्यही अनुसार गर्न संघीय सरकारका शिक्षामन्त्रीलाई सुझाब दिइएकोसमेत जानकारी दिए । अर्काे विकल्पका रुपमा मुख्य विषयहरु गणित, अंग्रेजी र विज्ञानकै मात्र पनि परीक्षा लिन सकिने उनले बताए । परीक्षाको क्लस्टर भौगोलिक र कोरोना सम्भावित क्षेत्रका आधारमा छुट्याउन सकिने मन्त्री रावलको भनाइ छ । कोभिड १९ ले ल्याएको विपदमा परीक्षा दिने पद्धति परिवर्तन गर्ने राम्रो अवसर मिलेको कर्णाली प्रदेशको ठम्याई छ । त्यसैले विद्यार्थीको ‘ज्ञान’ र ‘सीप’ दुबै हुनेगरी परीक्षा लिने पद्धति अब बसाल्नुपर्ने मन्त्री रावलले बताए । उनका अनुसार कर्णाली प्रदेशमा जम्मा ३७ हजार २३ विद्यार्थी  एसईई परीक्षाको तयारीमा छन् । १७६ परीक्षा केन्द्र छ । प्रदेशभरी करिव पाँच लाख विद्यार्थी छन् ।

प्रविधिमार्फत्  नतिजा प्रकाशन
हाल विद्यालय तहको परीक्षा भएपनि  नतिजा प्रकाशित हुन सकेको छैन । तर, प्रदेश सरकारले विद्यालयहरुलाई प्रविधि(अनलाइन)मार्फत् नतिजा प्रकाशन गर्न लगाउने योजना सुनाए । ‘केही विद्यालयहरुले सुरु नै गरिसकेका छन् बाँकीलाई पनि सूचना प्रविधि वा अन्य विकल्पबाट नतिजा प्रकाशन गर्न लगाउँछौं ।’ उनले भने–’यस विषयमा स्थानीय तहसँगपनि छलफल हुँदैछ ।’ केही समयमै नतिजा प्रकाशन गर्ने काम सक्ने उनले बताए । उनका अनुसार हाल प्रदेशमा ३ हजार ३८ सामुदायिक र १ सय ४९ गरी ३ हजार १८७ विद्यालयहरु रहेका छन् । सबैमा विभिन्न  विकल्पमार्फत् नतिजा प्रकाशन गर्न लगाउने उनले बताए ।

भर्चुअल र प्रिन्ट मिडियाबाट पढाइने
प्रदेश सरकारले सूचनाप्रविधिको पहुँच भए नभएको विद्यालयको विवरण निकालेर पहुँचका आधारमा पढाइका विकल्पहरु प्रयोग गरिने जनाएको छ । सूचनाप्रविधिको पहुँच हुने विद्यालयहरुमा इन्टरनेट, रेडियो र टेलिभिजनमार्फत भर्चुहल कक्षा सञ्चालन गर्ने र बाँकीमा प्रिन्ट मिडियोको प्रयोग गरेर भएपनि सिकाइलाई निरन्तरता दिने प्रदेशको योजना रहेको मन्त्री रावलले बताए । कतिपय स्थानमा रेडियो र टेलिभिजनबाट भर्चुअल कक्षा शुरु भइसकेकोसमेत उनले जानकारी दिए । हालसम्म कर्णाली प्रदेशमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छैन । कतै कोरोना संक्रमण देखिहालियो भने त्यस क्षेत्रलाई लक गरेर पालिकास्तरीय क्लस्टर छुट्याएर जान सकिने उनले स्पष्ट पारे ।

परीक्षामा मात्र नभई कोरोना महामारीको अवधिमा पठनपाठनलाई पनि क्लस्टरका आधारमा अघि बढाइने उनले बताए । यसका लागि प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा एजुकेशन कलस्टरमार्फत् काम थालेको उनले बताए । एजुकेशन कलस्टरले कोरोनाको अवधिमा शिक्षाका लागि पूर्व तयारी र प्रतिकार्यसँग सम्बन्धित बृहत् योजना बनाएको मन्त्री रावलले जानकारी दिए । प्रदेशले रेडियोबाट पठनपाठन शुरु गरिसकेको र भने भर्चुअल कक्षा थाल्ने तयारी गरिरहेको उनले बताए । ‘शिक्षा समूहमार्फत् सामग्री उत्पादन गरिएका छन्, रेडियो नसुनिने र इन्टरनेटको पुहँच नभएका ठाउँमा यस्ता सामग्री पठाइनेछन्,’ मन्त्री रावलले भने । कर्णाली प्रदेशका अति दुर्गम क्षेत्रमा फागुनबाटै शैक्षिक शत्र शुरु हुन्छ । त्यहाँ देशमा कोरोना प्रभाव नपर्दै पाठ्यपुस्तक पुर्याइसकिएको पनि मन्त्री रावलले दाबी गरे ।

प्रविधिमैत्री शिक्षक तयारी
कोरोना भाइरसको संक्रमणले शिक्षकहरु प्रविधिमैत्री हुन प्रेरित गरेको भन्दै कर्णाली प्रदेशले शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने योजना ल्याउन लागेको जनाएको छ । भएका शिक्षकहरुलाई कसरी प्रविधिमैत्री बनाउने भनेर छलफल चलिरहेको मन्त्री रावलले बताए । अब शिक्षकहरुलाई प्रविधि मैत्री बनाउन तालीम सञ्चालन गरिने उनले जानकारी दिए । यस्तै, अब प्रदेश सरकारले आयोग उत्तीर्ण नयाँ शिक्षकहरुलाई कर्मचारीहरुलाई जस्तै ६ महिने सेवाकालीन तालीम दिएर मात्रै कक्षाकोठामा जानदिने योजना बनाएको छ । मन्त्री रावलका अनुसार शिक्षकको सो सेवा कालीन तालीममा सिकाइमा मल्टिमिडिया, ईलाइब्ररीलगायतका विषयवस्तु समेटिनेछ । नगरपालिका र गाउँपालिकामहासंघहरुसँग छलफल गरेर यसलाई साझा ढङ्गमा अगाडि बढाउने प्रदेशको योजना रहेको उनले सुनाए ।

योजनाबद्ध सुधार
कर्णाली प्रदेश सरकारले शिक्षामा योजनाबद्ध सुधारका लागि एजुकेशन कलस्टर निर्माण गरेको मन्त्री रावलले जानकारी दिए । उनका अनुसार विज्ञसहितको एजुकेशन कलस्टरले बनाएको विस्तृत योजनाअनुसार प्रदेशले शिक्षा सुधारका काम अगाडि बढाउँदै लगेको बताए । अबको दिनमा शिक्षा र स्वास्थ्यमा धेरै वजेट खर्च गर्नुपर्ने देखिएको भन्दै त्यसैको सुधारमा आफुहरु केन्द्रित रहनेसमेत मन्त्री रावलले स्पष्ट पारे ।

बहुप्राविधिक शिक्षामा जोड
कर्णाली प्रदेशले बहुप्राविधिक शिक्षालाई जोड दिँदै यसका लागि पाठ्यक्रम निर्माण टिम बनाएर काम गरिररहेको मन्त्री राववले बताए ।  ‘बहुप्राविधिक केन्द्र चलाएर अत्यन्त सीप भएका व्यक्ति उत्पादन गरौं । प्राविधिक शिक्षाका नाममा खुद्रा खर्च र बेरोजगार जनशक्ति उत्पादन नगरौं भन्ने हाम्रो नीति हो,’ उनले भने । प्राविधिक शिक्षाका नाममा धेरै ठाउँमा बग्रेल्ती शिक्षालय खोल्ने र अनावश्यक तालिम चलाउनेभन्दा एउटै बहुप्राविधिक शिक्षालय खोल्नका लागि बजेट छुट्याउनुपर्नेमा उनको जोड थियो । प्रदशेले  आउने वर्षबाटै बहुप्राविधिक शिक्षा शुरु गर्ने उनले जानकारी दिए ।
२०७७ बैशाख १६ गते १७:२१मा प्रकाशित

प्रतिकृया दिनुहोस्