काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस महामारीको  सङ्कटले विश्वमै शिक्षक समुदायको भुमिका बढाएको बताएका छन् । यस संकटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको भन्दै उनले यसले  शिक्षकका लागि नयाँ शिक्षा प्रणालीको नेतृत्व लिने अवसर प्रदान गरेको स्पष्ट पारे ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिले आयोजना गरेको शिक्षकहरुको ५ दिने अनलाइन आइसिटि शिक्षण तालीमको उद्घाटन गर्दै प्रचण्डले संगठनले आधुनिक विज्ञान प्रविधिको प्रयोग गरेर शिक्षकलाई परिचालन गर्न खोज्नु प्रशंसनीय काम भएको बताए ।

यसले विद्यार्थीहरुलाई पनि नयाँ शिक्षा प्रणालीतर्फ दोड्याउने भन्दै उनले शिक्षकहरुमा पनि सूचना प्रविधिको विकासले नयाँ शिक्षा प्रणाली विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

समाज विकासको समग्र प्रक्रियामा मान्छेले हरेक नकारात्मकता भित्र कहिँ न कहिँ त्यसभित्र अन्तर्निहित सकारात्मक परिणामको खोजीगर्ने भन्दै उनले विश्वव्यापी कोरोना संकटले नयाँ विश्व व्यवस्था, सामाजिक प्रणाली र नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई ं इङ्गित गरेको बताए ।

यस महामारीले सिङ्गै विश्वलाई प्रभावित बनाएको र यसका विरुद्ध मानिसले जित्नेछ भन्ने आशा व्यक्त गर्दै उनले हरेक सङ्कटसँग मानवजाति जुध्नु र सङ्कटबाट पार पाएर परिस्थितिअनुकूल नयाँ सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्था अनुकूल हुनु अहिलेको आवश्यकता भएको बताए ।

नयाँ मानिस निर्माण गर्ने वैज्ञानिक र सांस्कृतिक सबै दृष्टिकोणले शिक्षकहरुको भूमिका महत्वपूर्ण रहँदै आएकामा अहिले यो भूमिकाको आवश्यकता झन् बढेको प्रचण्डले बताए । नयाँ विश्व व्यवस्था र समाजवाद सुहाउँदो शिक्षा प्रणाली स्थापित गर्न शिक्षकहरुले नयाँ सन्देश दिन र परिचालित गर्न प्रशिक्षण एक महत्वपूर्ण पहलकदमी हुने उनको भनाइ थियो ।

उनले हरेक नकारात्मकताभित्र मानिसहरुले सकारात्मकताको खोजी गरी विचार र शिक्षा प्रणालीको विकासका ठूलो योगदान दिनसक्ने भएकाले प्रशिक्षणमा सहभागी शिक्षकले त्यसअनुसारको सन्देश विद्यार्थी र अभिभावकसमक्ष लानुपर्नेमा पनि जोड दिए ।

२०७७ जेष्ठ १ गते १२:१९मा प्रकाशित

प्रतिकृया दिनुहोस्