काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्वमहानिर्देशक बाबुराम पौडेलले गुणस्तरीय शिक्षकले मात्रै गुणस्तरीय शिक्षा दिन सक्ने बताएका छन् । गुणस्तरीय शिक्षक हुनका लागि प्रविधिमैत्री हुनु अनिवार्य शर्त भएको उनको भनाइ थियो ।

बिहिवार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रिय समितिले आयोजना गरेको प्रविधिमैत्री शिक्षक/प्रशिक्षक तालीमको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै पूर्व महानिर्देशक पौडेलले कक्षाकोठालाई संसारमा पुर्याउन वा संसारलाई कक्षाकोठामा भित्राउन सूचनाप्रविधिले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

सरकारले यसका लागि धेरै प्रयत्न गरेको भएपनि शिक्षकवर्गले आफै नेतृत्व लिएर, आफ्नै पहलमा प्रशिक्षकहरु तयार पार्ने र कक्षाकोठामा सूचना प्रविधिको प्रयोग गरी विद्यार्थीहरुलाई पनि प्रविधिमैत्री बनाउने जागरुकता सरकार भन्दा अगाडि बढेर लिनु सुखद र अनुकरणीय भएको उनले स्पष्ट पारे । उनले यस पहलकदमीका लागि संगठन प्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गरे ।

सरकारले धेरै शिक्षक प्रशिक्षण सञ्चालन गरेपनि शिक्षकहरुले महत्वपूर्ण रुपमा ग्रहण नगर्दा कक्षाकोठामा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै पौडेलले यस प्रशिक्षण पनि हिड्दै छ पाइला मेट्दै छ जस्तो नहोस् भन्दै शुभकामना दिए ।

सिक्ने मान्छे तयार हुनु सिकाइको प्रभावकारिताको पहिलो कडी भएको भन्दै पौडेलले यस प्रशिक्षणका लागि गुणस्तरीय समय छुट्याउन सहभागी शिक्षकहरुसँग उनको आग्रह थियो ।

‘गुणस्तरीय शिक्षक बन्न, गुणस्तरीय शिक्षा दिन यो कार्यक्रमलाई गुणस्तरीय समय छुट्याएर बस्नु होला’, पौडेलले भने ।

‘आरामसँग टेलिभिजन मनोरञ्जनमूलक कार्यक्रम हेरेको जस्तै सहभागिताका लागि सहभागी हुन भन्दा सिक्ने जाँगर, उत्सुकता र तयारीका साथ प्रशिक्षणमा सहभागिता जनाउनुपर्यो’–पौडेलले भने– ‘कपीकलम लिएर बस्ने, टिप्ने र जिज्ञासा राख्ने गरेमात्रै प्रशिक्षण प्रभावकारी हुन्छ ।’ ढिलो आउने र चाँडो कक्षा छाड्ने नगर्न सहभागीहरुसँग उनको आग्रह थियो ।

कक्षाकोठामा रुपान्तरण नभएसम्म यी काम सार्थक हुँदैनन भन्दै शैद्धान्तिक भन्दा प्रशिक्षण व्यवहारिक होस् भन्ने अपेक्षा व्यक्त गरे ।

एकवर्ष अगाडि पहिलो पटक यसै सँगठनले प्रविधिमैत्री शिक्षक तयार पार्ने अभियान शुरु गरेको स्मरण गर्दै पौडेलले यस अनुकरणीय कार्यको सबैतिर विस्तार हुनुपर्ने आवश्यकता औँल्याए ।

२०७७ जेष्ठ १ गते १७:५४मा प्रकाशित

प्रतिकृया दिनुहोस्