काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जाने उमेरका बालबालिकाको सिकाइ निरन्तरताको सुनिश्चितताका लागि मन्त्रालय प्रतिबद्ध रहेको जनाएका छन् ।

प्रविधिमा विद्यार्थीको पहुँचलाई ध्यानमा राखी परिवेश अनुकुल हुने गरी विभिन्न प्रकृतिका सिकाइ निरन्तरताका कार्यक्रम सहित मन्त्रालयले निर्देशिका ल्याइसकेको उनले जानकारी दिए ।

संसदमा मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले परीक्षा  र पढाइका सन्दर्भमा विद्यार्थी तथा अभिभावकमा रहेको अन्योललाई अब धेरै दिन रहन नदिने स्पष्ट पारे ।

कम सुविधा प्राप्त वर्ग र फरक क्षमताका विद्यार्थीहरुलाई समेत सम्बोधन गर्नेगरी रेडियो, टेलिभिजन, अनलाइन सिकाइका लागि तयार भएका छापा सामग्री प्रयोग गरी स्वाध्ययनका माध्यमबाट सिकाइ निरन्तरताको सुनिश्चितता गर्ने तयारीमा मन्त्रालय जुटेको उनले जिकिर गरे ।

महामारीले ज्ञान हस्तान्तरणमा केन्द्रित विद्यमान शैक्षिक प्रणालीमा रुपान्तरण गरी ज्ञान हस्तान्तरण साथै ज्ञान निर्माणमा केन्द्रित शिक्षा प्रणाली विकास गर्ने अवसर प्रदान गरेको मन्त्री पोखरेलको भनाइ थियो ।

सुझावका लागि विज्ञसमिति गठन गरी लकडाउनको अनुभव र समितिको सुझावका आधारमा मन्त्रालयले सिकाइ निरन्तरता सम्बन्धी निर्देशिका जारी गरिसकेको मन्त्री पोखरेलले बताए ।

कोरोना महामारीले शिक्षाको परम्परागत सीमिततालाई उजागर गरिदिएको र सँगै अवसरपनि सिर्जना गरिदिएको उनको भनाइ थियो ।

वर्तमान संकटले विद्यार्थीलाई स्वअध्ययनबाट मनन् गर्दै शिक्षा लिने बानीको विकास भएको, स्वसिकाइमा केन्द्रित हुँदा विज्ञ, शिक्षक, इन्टरनेट, पुस्तक, मिडिया आदिको माध्यमको प्रयोग गर्न सिकाएको साथै, घर परिवारलाई नै लघु विद्यालय बनाउन प्रेरित गरेको उनको भनाइ थियो ।

प्रत्यक्षआमनेसामाने भएर शिक्षा लिने परम्परागत प्रणालीको विकल्प र परिपुरक रुपमा वैकल्पिक शिक्षा पद्धतिलाई स्वीकार गर्न बाध्य बनाएकाले अब खुला तथा दूर शिक्षा, वैकल्पिक शिक्षा, अनौपचारिक शिक्षाको विकासमा तिब्रता ल्याउन पनि हालीलाई प्रेरित गरेको मन्त्री पोखरेलले बताए । साथै, महामारीले अहिलेको प्रविधिमय र औद्योगिक विश्वमा सूचना प्रविधि सिकाइमा प्रयोग नगरी नहुने भन्ने कुरा सिकाएको उनको भनाइ थियो । शिक्षामा सूचना प्रविधिको अधिकतम अवसर सिर्जना गरिदिएको उनले बताए ।

उल्लेखित शिक्षालाई ध्यान दिँदै लामो समय अवरुद्ध पढाइका कारणबाट पुग्न जाने शैक्षिक क्षतिलाई न्यूनिकरण गर्न मन्त्रालयको ध्यान केन्द्रित रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्