शिक्षक कर्मचारीका ८ संगठन मिलेर समाजवादी शैक्षिक मञ्च घोषणा

शिक्षक महासंघको समानान्तर नभएको स्पष्टोक्ति

Avatar photo

Byएजुकेशन पाटी

८ फाल्गुन २०८०, मंगलवार

काठमाडौं । शिक्षक र विद्यालय कर्मचारी विभिन्न ८ वटा संगठन मिलेर समाजवादी शैक्षिक मञ्च घोषणा भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)का अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा २७ सदस्यीय मञ्च घोषणा गरिएको हो ।

राजधानीमा विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, संसदीय शिक्षा समितिका सभापति भानुभक्त जोशी तथा समाजवादी मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुको उपस्थितिमा मञ्च घोषणा भएको हो ।

युएण्टोका अध्यक्ष अधिकारीको अध्यक्षमा घोषणा भएको समाजवादी शैक्षिक मञ्चको उपाध्यक्षमा शिक्षक समाजकी प्रतिभा पाण्डे र मञ्चको महासचिवमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका हरिदेव यादव रहेका छन् । यसैगरी कोषाध्यक्षमा संघीय समाजवादी शिक्षक फोरमकी सञ्जिता मण्डल चयन भएकी छन् । मञ्चको अध्यक्ष आवद्ध संगठनका अध्यक्षहरुबाट ३/३ महिनामा आलोपालो प्रणालीमा गरिने जनाइएको छ ।

साथै, अध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्ष फरक फरक संगठनका हुने मञ्चले जनाएको छ । साथै, मञ्चलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गरिने जनाइएको छ । यसैगरी मञ्चको उद्देश्य तथा कार्यक्रम सञ्चालनका लागि आवद्ध संगठनका महासचिवहरु सहितको सचिवालय गठन गरिएको छ ।

मञ्चमा आवद्ध घटक संगठनहरुमा एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो), प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, संघीय समाजवादी शिक्षक फोरम नेपाल, अखिल नेपाल शिक्षक संघ, विश्वविद्यालय तथा विद्यालय शिक्षक एशोसियसन नेपाल, अखिल नेपाल विद्यालय कर्मचारी संगठन, शिक्षक समाज नेपाल तथा शिक्षक जनमत संघ रहेका छन् । यसैगरी संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु) तथा माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन) आमन्त्रित सदस्यको रुपमा रहेका छन् ।

अध्यक्ष नियुक्त भएसँगै शंकर अधिकारीले मञ्चले नेपाल शिक्षक महासंघसँग समानान्तर नभइ सहयोगी भूमिका खेल्ने स्पष्ट पारे । मुलुकमा उत्पीडित शिक्षक, विद्यालय कर्मचारीका अधिकारका लागि अझै पनि एकीकृत शैक्षिक आन्दोलनको आवश्यकता रहेकोमा उनको जोड थियो ।


मुलुकमा अझै पनि ठूलो तप्का शिक्षकलाई अधिकार दिनु हुँदैन भन्ने लाइनमा रहेको भन्दै अधिकारीले मञ्चले उनीहरुको विरुद्ध र शिक्षकमैत्री विद्यालय शिक्षा ऐनको पक्षमा संघर्ष गर्ने स्पष्ट पारे । अधिकारीले भने–‘मञ्च शिक्षक महासंघको विकल्पको रुपमा अर्को महासंघ नभइ महासंघलाई नै सहयोग गर्ने गरी घोषणा गरिएको हो तर उत्पीडित शिक्षकको अधिकारका निम्ति चुप लागेर भने बस्दैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवगठित समाजवादी शैषिक मोर्चालाई शुभकामना दिँदै समाजवाद उन्मुख शिक्षा र विद्यालय शिक्षा ऐन निर्माणका लागि भूमिका खेल्न आग्रह गरे । शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले शिक्षाको रुपान्तरमा मञ्चले भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

यसैगरी, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले मञ्चले समाजवादी शिक्षाको खाका दिनुपर्ने आवश्यकता औंल्याए । मञ्चलाई संसदीय शिक्षा समितिका सभापति भानुभक्त जोशी, पूर्व शिक्षामन्त्री एवं माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल, नेपाल कम्युनिष्ट पाटीका नेता अनिल शर्मा, जनता समाजवादीका नेता जनक शाहलगायतले शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्