काठमाडौं । राष्ट्रिय युवा परिषदले सातौं स्थापना दिवस मनाएको छ । वि.स. २०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद्,ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना दिवस मान्दै आएको छ। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिहीबार सानो ठिमीस्थित परिषद् परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गरेका थिए । मन्त्री गहतराजले विभिन्न मन्त्रालयमा छरिएका युवा लक्षित कार्यक्रमहरु एकीकृत गरी अघि वढाउन सके मात्र ठोस परिणाम निकाल्न सकिने बताए।

मन्त्री गहतराजले युवाको विकास भनेको राष्ट्रको विकास भएको वताए । उनले भने, ‘समृद्ध राष्ट्र निर्माणका लागि सक्षम , प्रतिस्पर्धी र उद्यमशील युवा तयार गर्नु जरुरी छ ।’ मन्त्री गहतराजले विदेशवाट फर्किएका युवाहरुलाई स्वदेशमा सदुपयोग गर्न सरकार र परिषद्ले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए ।

कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले मुलुकको ४० प्रतिशत हिस्सा ओगट्ने युवाको सर्वाङ्गीण विकास नगरी राष्ट्रको विकास हुन नसक्ने धारणा राखे । परिषदका पूर्व कार्यकारी उपाध्यक्षसमेत रहेका एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले विगतमा परिषद्को जग बसाल्न खेलेको भूमिकाको चर्चा गरेका थिए। काँग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले युवा परिषदले सवै विचार र क्षेत्रका युवालाई समेट्नु पर्ने बताए।

कार्यक्रममा माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा) ले युवा परिषद्ले दुरदराज र तल्लो वर्गका युवाहरुको पक्षमा काम गर्नुपर्ने बताए । एकीकृत समाजवादीकी केन्द्रीय सदस्य दिलु पन्तले वेरोजगारी अन्त्य गर्न युवा परिषद्ले विशेष अभियान चलाउनु पर्ने बताइन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विक्की यादवले परिषद्ले राजनीतिक आग्रहबाट मुक्त भएर काम गर्नु पर्ने वताए । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका नेता मनिष मिश्रले युवा परिषद्ले सवै जाति ,क्षेत्र र समुदाय समेट्नुपर्ने बताए।

परिषद्को कार्यक्रममा युवाले अभियन्ता एवम् युथ भिजन २०२५ निर्माण कार्यदलका सदस्य प्रदिप परियारले युवाको अवस्था , चुनौती र अवसर विषयमा कार्यपत्र पेश गरेका थिए । कार्यक्रममा परिषद्का प्रकाशकीय प्रमुख रमाकान्त शर्मा र कार्यकारी सदस्य तिलोत्तम पौडेलले परिषद्का गतिविधिबारे चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस्