काठमाडौँ । विद्यार्थीहरुले तयार पारेको पानी सोस्ने पिच रोड देखेर अभिभावकहरु दङ्ग देखिन्थे । जसबाट सडक संरक्षणसँगै आकासे पानीको मद्दतले जमिनका पानीका स्रोतहरु रिचार्ज गर्न सकिने थाहा पाएपछि त उनीहरु झनै खुसी देखिए ।

विद्यार्थीले तयार पारेका आधुनिक कृषि औजार, सौर्य उर्जाले सञ्चालित अत्याधुनिक हरित सहर, माटोरहीत कृषि उत्पादन, विद्युतीय सवारीलगायतले अभिभावकका मन जिते ।

काठमाडौं उपत्यकाको सवारी जाम हटाउने जुक्ति, भूकम्प प्रतिरोधि संरचना निर्माणलगायतका अनौकौँ इञ्जिनियरिङका नमूना, सांस्कृतिक सम्पदाका संरक्षणदेखि नेपालका भूगोल सुहाउँदा पुल निर्माणका कला भएतिर अभिभावकहरु झम्मिए ।

लस्करै राखिएका स्टलहरुमा कतै विज्ञानका अविस्कार थिए भने कतै इञ्जिनियरिङका उत्कृष्ट नमूनाहरु । एकातिर गणितका नयाँ नयाँ प्रयोगहरु प्रदर्शित थिए भने अर्कोतिर विद्यार्थीहरुले मिठा मिठा परिकार पकाएर अभिभावकहरलाई चखाइरहेका देखिन्थे ।

यो दृश्य थियो सरस्वतीनगर,चाबहिलस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले आयोजना गरेको उपत्यकाव्यापी तिन दिने विज्ञान प्रदर्शनी मेलाको ।

बिहीबार एक भव्य समारोहका बिच उद्घाटन गरिएको विज्ञान प्रदर्शनी मेलामा २० वटा विज्ञान तथा २० वटा सूचना प्रविधि सम्बन्धी स्टलहरू प्रदर्शन गरिएका छन् । त्यसबाहेक प्रदर्शनरत ‘आर्ट’ ‘फेस पेन्टिङ’ तथा फुड स्टलहरूले मेलाको रौनक थप बढाएका छन् ।

विद्यार्थीहरूको लुकेको प्रतिभालाई उजागर गरी उनीहरूलाई राष्ट्रको असल अनि सभ्य नागरिक बनाउने उद्देश्यले आयोजित विज्ञान प्रदर्शनी मेलामा वैज्ञानिक खोज, अन्वेषण र प्रयोगमा आधारित विद्यार्थीका कला र सिर्जनाले जो कोहीको मन जित्छ ।

हरेक वर्ष विद्यालयस्तरीय विज्ञान प्रदर्शनी गर्दै आएको रिलायन्स एकेडेमीले यसवर्ष भने प्रतियोगितात्मक उपत्यकाव्यापी विज्ञान प्रदर्शनी गर्ने आँट गरेको हो । प्रदर्शनीमा १० विद्यालय र १० प्लसटु सञ्चालित कलेजले प्रतिस्पर्धा गरिरहेका छन् ।

उपत्यकाव्यापी बनेको यस विज्ञान प्रदर्शनीलाई अब आगामी दिनमा राष्ट्रव्यापी बनाउने तयारी रहेको रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले जानकारी दिए । भोलि पढेर जतिसुकै ज्ञान हासिल गरेपनि त्यो नवीन, सिर्जनात्मक र अनुसन्धानमुखी भएन भने समाज रुपान्तरका लागि कुनै कामको नहुने भन्दै थापाले विद्यार्थीको शिक्षण सिकाइलाई सिर्जना, खोज र अनुसन्धानसँग जोड्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए ।

प्रदर्शनीलाई ४० बढी विद्यालयका शिक्षक विद्यार्थी र हजारौं अभिभावकले अवलोकन गर्ने जानकारी दिँदै थापाले विद्यालय र कलेजका उत्कृष्ट ३/३ स्टललाई पुरस्कृतसमेत गरिने बताए ।

आइडीया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले प्रदर्शनीको उद्घाटन गर्दै नेपालको अन्वेषण पश्चिमी समाजको जस्तो नभएको र यसमा नेपाली संस्कृति अनिवार्य मिसिने गरेको धारणा राखे । आविष्कारहरू दैनिक जीवनसँग सम्बन्धित हुनुपर्नेमा ै जोड दिँदै डा. लामाले विद्यार्थीहरुले प्रदर्शन गरेको कला, सिप र सिर्जनाको प्रशंसा गरे ।

उद्घाटन समारोहमा रिलायन्स एजुकेसन नेटवर्कका सह–प्रधानाध्यापक नन्दु कुमार कुशवाह, रिलायन्स कलेजका साइन्स एण्ड आइटी क्लबका अध्यक्ष मुकुन्द खनाल, रिलायन्सका कलेजका सञ्चालक तथा वरिष्ठ चार्टर एकाउन्टेन्ट राजु कुमार सिवाकोटी, शिक्ष गोविन्द ढकाललगायतले प्रदर्शनीको सफलताको कामना गदै अतिथिहरुलाई अवलोकनका लागि आग्रह गरेका थिए । प्रदर्शनी फागुन १२ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिकृया दिनुहोस्