काठमाडौँ । विद्यालयमा पढ्ने बालबालिका माथि कुनै प्रकारको हिंसा हुन नहुनेमा शिक्षा सरोकारवालाहरुले एकमत जाहेर गरेका छन् । शिक्षा पत्रकार समूहले ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत विद्यालयमा बालबालिका माथि हुने गरेको हिंसा नामक कार्यक्रममा उनीहरुले ऐक्यवद्धता जाहेर गरेका हुन् ।
विद्यार्थीले भनेको नमान्दा आफूहरुले अलि ठूलो स्वरमा कराउने गरेको भएता पनि यो गलत भएको र आउने दिनमा यस्तो नगर्ने प्रतिवद्धता समेत उनीहरुले गरेका छन् । विशेष गरी सामुदायिक विद्यालयमा निम्न आयस्तर र घरेलु हिंसा भोगेका विद्यार्थी समेत पढ्न आउने हुँदा उनीहरुको मानसिकता क्रियाकलाप र गतिविधी अलि उच्छृंखल र भनेको नमान्ने खालको हुने धारणा शिक्षकहरुको थियो ।
अनुशासनमा राख्ने बहानामा शिशु कक्षा पढ्ने बालबालिका देखि लिएर कक्षा १० अध्ययन गरुन्जेल सम्म विद्यार्थीमाथि अनेकौं हिंसा तथा दूरव्यवहार हुने गरेको कुरा कार्यक्रममा उठेको थियो । शिक्षा विज्ञ डा सुमन कोमल तुलाधरले लैंगिक हिंसा सम्वन्धि निती आफूले अध्ययन गर्दा नितीमै विद्यालयमा हुने लैंगिक हिंसा (स्कूल रिलेटेड जेन्डर बेस्ड भ्वाइलेन्स) तोकेरै आउन पर्ने बताउनु भयो । लैगिक हिंसाका स्वरुपहरु बदलिदै आएको हुँदा हाम्रा बालबालिकाहरु प्रविधीको माध्यमबाट पनि हिंसा र दूरव्यवहार खेप्नु परेको तर्क उहाँको थियो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र जिल्ला परिसर काठमाण्डौंका इनीस्पेक्टर संगीता पाण्डेले विद्यार्थी माथि कुनै हिंसा तथा दूरव्यवहार भएको छ भने तुरुन्त प्रहरीलाई १०० नम्वरमा कल गरेर खवर गर्नु पर्ने बताउनु भयो ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बालबालिका माथि हुने हिंसा र दूरव्यवहारले दीर्घकालीन असर पार्ने विचार राख्नु भयो ।संचारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले महिला तथा बालबालिका माथि हुने कुनै पनि हिंसा सह्य नहुने बताउनु भयो ।
विद्यालय व्यवस्थापन महासंघकी महासचिव देवि खड्काले विद्यालय भित्र बालबालिका माथि कुनै पनि प्रकारको हिंसा र दुव्र्यवहार हुन नहुने धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीको उपस्थिति थियो ।