काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार बिहान सिंहदरबारमा बसेको वार्ता निष्कर्ष विहीन बनेको छ । विभिन्न शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान गृहमन्त्रीकै कार्यकक्षमा वार्ता भएको थियो । तर, छलफल निष्कर्ष विहीन बनेपछि पुन: वार्ता गर्नेगरी वार्ता सकिएको छ। यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा भने शिक्षकहरु वार्तामा बसेका थिएनन् ।

बिहान आठ बजेदेखि सुरु भएको वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गरिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीलगायतका शिक्षक प्रतिनिधिहरु सहभागी थिए । वार्ता ९ बजेसम्म चलेको थियो । तर वार्तामा कुनै सहमति नजुटेपछि शिक्षकहरुको आन्दोलन जारी नै रहने भएको छ ।

विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति असहमति जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुले बिहीबार पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्