काठमाडौं । विद्यालय तहको आगामी शैक्षिक सत्र १ वैशाखमै सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शिक्षा मन्त्रालयले १ वैशाखमै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण गत वर्षको शैक्षिक सत्र १ जेठदेखि सुरु गरिएको थियो । केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै आगामी शैक्षिक सत्र १ वैशाखबाट सुरु हुने जनाएको छ ।

पहिले कोरोना महामारीका कारण २०७७ को शैक्षिक सत्र सरेर २०७८ को जेठसम्म चलेको थियो । २०७८ को शैक्षिक सत्र असारदेखि २०७९ को वैशाखसम्म चल्यो । २०७९ को जेठदेखि चलेको शैक्षिक सत्र भने चैतमै सकेर आगामी सालको वैशाख १ गतेदेखि पुरानै तरिकाले शैक्षिक सत्र सुरु गर्ने तयारी मन्त्रालयले गरेको हो ।

प्रतिकृया दिनुहोस्