सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका प्रेमराज दाहाल विजयी भएका छन् । उनी एक मतले विजयी भएका हुन् । दाहालले ३ सय ५० मत प्राप्त गर्दा निकटम प्रतिद्धन्द्धी अनेरास्ववियुका सन्दिप थापाले ३ सय ४९ मत मात्र प्राप्त गरे ।

उक्त क्याम्पसमा सोमबार दोहोर्याएर मतगणना भएको हो। आईतवार राति भएको मत गणनामा दुवै उम्मेदवारको ३५० बराबर मत प्राप्त गरेका थिए। रातिको मतगणनामा टिपोट गर्नेक्रममा अनेरास्ववियुका थापाको एक मत बढी टिपोट भएको समेत पाइएपछि पुनः मतगणना गर्ने सहमति भएको थियो।

सोमबारको सर्वपक्षिय बैठकपछि पुनः मतगणना भएको हो । पुनः मतगणना गर्दा पनि बराबरी मत आए गोलाप्रथा गर्ने सहमति भएपनि दाहाल मत गणनामै १ मतले विजयी भएका हुन्। उक्त क्याम्पसमा ७ सय ११ विद्यार्थी रहेका थिए। प्रत्यक्षतर्फ ६ सय ९९ जनाले मतदान गरेका थिए । १२ मत भने बदर भयो ।

सभापतिमा विजयी अखिलका दाहाललाई नेविसङ्घ र एकीकृत समाजवादी निकट अनेरास्ववियूको समर्थन रहेको थियो।सचिवमा भने अनेरास्ववियुका हिमाल घिमिरे १२ मतले विजयी भएका छन् ।

घिमिरे ३५६ मत प्राप्त गर्दा संयुक्त प्यानलका उम्मेदवार नेविसङ्घका दिलिप बहादुर बस्नेतले ३४४ मत मात्रै प्राप्त गरे । कोषाध्यक्ष र अन्य सदस्य पदमा भने संयुक्त प्यानलका उम्मेदवारहरु विजयी भएका छन् । समानुपातिकतर्फ भने सदर भएको ७०२ मतमध्ये अखिल क्रान्तिकारीले ३६५ र अनेरास्ववियुले ३३७ मत प्राप्त गरेको छ ।

निरन्तर युवाहरु माझ रहेर हौसला प्रदान गरिरहेका बागमति नगरपालिकाका नगर प्रमुख भरत थापाले विजयी भएका दाहाललार्ई क्याम्पसमै पुगेर बधाई दिएका थिए ।

प्रतिकृया दिनुहोस्