ओखलढुङ्गा । लकडाउनको समयमा विद्यार्थीहरुसँगै शिक्षकहरु पनि घरमै बसिरहेका छन् । विद्यालय कहिले खुल्नेपनि अझै टुङ्गो छैन ।

घरमा बसेका शिक्षकहरुलाई विद्यालय फर्काउने वा विद्यार्थीको सिकाइसँग जोड्नुपर्ने कुरापनि शिक्षाविदहरुबाट आइरहेका छन् । सबैको सोचाइ सरकारको तलव सुविधा लिएर शिक्षकहरु घरमै आराम गरिरहेका छन् भन्ने नै छ ।

तर, ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर–३ सिस्नेरि सल्लेरि स्थित जलकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक हरिवंश पराजुलीलाई भने लकडाउनको समयमा पनि एकछिन् फुर्सद छैन ।

जिल्लाको अत्यन्तै विकट र दूर्गम ठाउँमा अवस्थित भूकम्पले ध्वस्त भएको सो विद्यालयको अहिले धमाधम पुनर्निर्माणको काम भइरहेको छ । प्रअ पराजुलीलाई अहिले दैनिकरुपमा भवन निर्माणको चटारो छ ।

उनी हरेक दिन विद्यालय गएर भवन निर्माणको अवलोकन र निर्माण सामग्रीको व्यवस्थापनमा जुटिरहेका हुन्छन् ।

विद्यालयमा हाल कक्षा १–५ सञ्चालनमा छ । २०४८ सालमा स्थापना भएको विद्यालयमा पुरानो जस्ताले छाएको ३ कोठा भवनबाट निकै दुखले सञ्चालन हुँदै आएको छ ।

एउटामा अफिसकोठा, अर्कोमा बालकक्षा, कक्षा एक र दुईका विद्यार्थी र एउटामा कक्षा तीन, चार र पाँचका विद्यार्थीलाई सँगै राखेर पठनपाठन हुँदै आएको छ ।

भूकम्पले भएका भवन ध्वस्त भएको र पुनर्निर्माणमा ढिलाइ हुँदा दैनिक पठनपाठनमा समेत समस्या हुँदै आएको थियो ।

बल्लतल्ल जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुङ्गाले विद्यालयमा चारकोठे भवन निर्माण गर्न ६९ लाख बजेट दिएपछि हौसिएका प्रअ पराजुली लकडाउनमा पनि भवन निर्माणमा कस्सिएका हुन् ।

यसअघि तत्कालीन प्रधानाध्यापक भोला अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर तामाङले निर्माण सम्झौता गरेको भएपनि तत्कालीन प्रअ अधिकारी घर पाएक सरुवा भइ गएपछि निर्माणमा ढिलाइ भएको थियो ।

पछि, सहायक प्रधानाध्यापक टंक बुढाथोकीले प्रधानाध्यापकको जिम्मेवारी सम्हाले पनि उनीपनि अस्थायी शिक्षकको आन्तरिक परीक्षामा असफल भए पछि र करिव १ वर्ष इसिडि शिक्षक कल्पना तामाङले प्रधानाध्यापकको जिम्मेवारी समाल्दा विद्यालय निर्माण कार्यले गति लिन सकेको थिएन ।

विद्यालय भवनको पहिलो दोश्रो र टप ढलान भएपनि अरु काम रोकिएको थियो । अझ, तत्कालीन विव्यस अध्यक्ष लाल बहादुर तामाङले विद्यालय निर्माण गर्न नसक्ने भनेर कामै रोकेका थिए ।

२०७६ मंसिर १८ गते नियुक्ति लिएर मंसिर २२ गते विद्यालयमा हाजिर भएसँगै प्रधानाध्यापक भएर काम शुरु गरेका पराजुलीले विद्यालय पुनर्निर्माणको काम फेरी अगाडि बढाएका हुन् ।

न भवन, न विव्यस रहेको अवस्थामा प्रअ भएका पराजुलीकै अगुवाइमा अभिभावकहरुको सर्वसम्मतिबाट हर्क बहादुर थापा क्षेत्रीको अध्यक्षमा विव्यस गठन गरी, पुरानो हिसाब निवर्तमान अध्यक्ष लाल बहादुर तामाङले नयाँ समिति र प्रधानाध्यापकलाई दिए पछि नयाँ समितिले भवन निर्माणका लागि पुनः म्याद थपको अनुरोध गर्ने निर्णय गरेको थियो । सोही अनुरोधपछि भवन निर्माण कार्य पुनः अगाडि बढेको हो ।

बल्लतल्ल शुरु हुन लागेको भवन निर्माण कार्य पुनः २०७६ चैत्र १० गते बाट लकडाउन भए पछि अनिश्चित बन्न पुग्यो ।

एकातिर लकडाउन, अर्कोतिर जिल्ला आयोजना कार्यान्वयन इकाईको असार १५ भित्र भवन नबने वजेट फ्रिज हुने पत्र पछि प्रअ पराजुली भवन निर्माणमा तातेका हुन् ।

लकडाउन भनेर घरमा बसे विद्यालय भवन नै नबन्ने अवस्था आएपछि सामाजिक दुरी कायम गर्दै विद्यालय भजन निर्माणमा जुटेको उनले बताए ।

आफु विद्यालय नजाँदा प्रअ घरमा आराम गरेर बसेको छ भन्ने आरोप आउन सक्ने भनेर कामदारलाई हौसला दिन र अन्य व्यवस्थापनको काममा सघाउन नियमित विद्यालय जाने गरेको प्रअ पराजुलीले बताए ।

हालसम्म विद्यालयसम्म यातायातको सुविधा आइनपुगेको र सबै सामान करिब २ घन्टा मानिसले बोकेर ढुवानी गर्नुपर्ने बाध्यता रहेकोले निर्माण कार्यलाई कठीन बनाएको प्रअ पराजुलीले जानकारी दिए ।

एक ट्याक्टर बालुवालाई १८ हजार, प्रति इटालाई २४ रुपैया र एक बोरा सिमेन्टलाई करिब १२५० तिर्नुपर्ने बाध्यता रहेको प्रअ पराजुलीले सुनाए ।हामीसँग रकम कम छ तर निर्माण सम्पन्न गर्नु पर्ने बाध्यता रहेको छ । उनले भने, लकडाउनका कारण सामन खरिदमा धेरै कठिन भएको छ ।

कोरना महामारी देशभर फैलिएकाले मजदुरहरुलाई पनि सामाजिक दुरि कायम गरि काम गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

लकडाउनको प्रवाह नगरि रात दिन विद्यालय निर्माणमा खटिरहेको भन्दै उनले समय सीमा भित्रै विद्यालय निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रअ नै दिनरात विद्यालय निर्माणमा खटिएपनि विव्यस र स्थानीय अभिभावकहरुले पनि साथ दिन शुरु गरेका छन् ।

विद्यालय निर्माणमा वडा नम्बर–३ का वडा अध्यक्ष बिष्णु कुमार खड्का र जिल्ला समन्वय समिति ओखलढुङ्गाका सभापति जय बहादुर थापा, सुनकोशी गाउँपालिका अध्यक्ष रुद्र अधिकारी, सुनकोशी गाउँपालिका शिक्षा शाखा प्रमुख विवेक कुमार तामाङ, प्रविधिक सहयोग गर्ने इन्जिनियर विशाल शाह ठकुरीलगायतले अमूल्य सहयोग गरेको भन्दै प्रअ पराजुलीले धन्यवाद दिए ।

लामो समय निर्माण कार्य रोकिएपनि विद्यालयको पुनर्निर्माण फेरी शुरु भएपछि अभिभावकहरु हर्षित बनेका छन् । ‘युवा र इमान्दार र मिहिनेती प्रअ पाएकाले विद्यालय भवन बनेरै छाड्ने भो’– एक अभिभावकले भने ।

लकडाउन र कोरना महामारिको बेला स्वास्थ्य जोखिममा राखेर निर्माण कार्यमा खटिरहेको प्रधानाध्यापक पराजुलीले गर्वका साथ भने–’ यो मेरो दायित्व पूरा गरेर छोड्ने छु र यस विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारेरै छाड्ने छु ।’

प्रतिकृया दिनुहोस्